कैलालीका नदीबाट नियन्त्रणमा लिएका १९ वटा ढुवानीका साधनलाई जरिवाना गरियो

धनगढी – नदीजन्य पदार्थ जिल्लास्तरीय अनुगमन समिति कैलालीको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट नियन्त्रणमा लिएका १९ वटा ढुवानीका साधनलाई जरिवाना गरेर छोडेको छ।

नदीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली आईतबार तीनवटै नदीको अनुगमनमा पुगेको थियो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि नदीको अनुगमन गरिएको हो। त्यसमा सबै निकायका सदस्य सहभागी थिए।

तीनवटै नदीबाट १० वटा टिपर, ३ वटा स्काभेटर, ३ वटा जेसीबी र ३ वटा ट्याक्टर प्रहरीले कब्जामा लिएको जिसस कैलालीका कार्यबाहक प्रमुख खगराज भुसालले बताए। तीनवटै नदीमा वातावरण प्रभाव मूल्यांकनको परवाह नै नगरी मनपरी नदीजन्य पदार्थको संकलन भइरहेको पाइएको उनले बताए।

कब्जामा लिएर १९ वटै ढूवानीका साधन जरिबाना गरेर छोड्ने सहमति भएको उनले बताए। तीनवटा स्काभेटरलाई एक लाख ५० हजार, ६ वटा जेसीबी प्रति जेसीबी ३० हजारका दरले एक लाख ८० हजार, तीनवटा टिपर ९० हजार र तीनवटा ट्याक्टरलाई ९ हजार पहिलो पटकका लागि जरिबाना गरेर छोड्ने निर्णय भएको जिल्ला समन्वय समिति कैलालीले जनाएको छ।

साथै ती ढूवानीका साधन सञ्चालकले नदीमा पारिएको खाल्डो पुरेर बराबर गर्नुपर्ने पनि सहमति भएको समितिले बताएको छ। खोलामा स्काभेटर र जेसीबीको प्रयोग बर्जित छ। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ४ ९४० मा लेखिएको छ, ‘नदीजन्य पदार्थको उत्खनन गर्दा सामान्यतया श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्ने छ।’ मेसिनको प्रयोग गर्नुपर्ने भए वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित सर्त र सीमाभित्र रही गर्नुपर्ने उल्लेख छ।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्