अहिले प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्छ : माधव नेपाल

फाइल

काठमाडौँ – सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गरेका छन्।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक गरिरहेका बेला अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले कामै गर्न नसक्ने भएकाले यस विषयलाई अहिले छलफलको विषय बनाउन नहुने बताएका हुन्।

बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले मन्त्री नै फेर्नु छ भने पनि सञ्चारमाध्यमलाई समेत थाहा नदिई खुसुक्क फेर्नुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री दाहालले सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले प्रधानमन्त्री फेरबदलको विषय तत्कालका लागि छलफलको विषय हुनै नसक्ने अध्यक्ष नेपालको भनाई थियो। उनले राष्ट्रिय सभा अध्यक्षको चयनमा सत्तारुढ दलहरुबीच विवादको विषय नबन्ने जिकिर समेत गरे।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिलेमा देशमा प्रधानमन्त्री हुुनुहुन्छ। उहाँले संसदको यो नयाँ अधिवेशनमा आफ्नो नीति, कार्यक्रम त्यसपछि बजेट यी सबै ल्याउनुपर्ने छ । यस्तो बेलामा को–को प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ? त्यसो हुनाले प्रधानमन्त्री वा मन्त्री सकैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन । मन्त्री नै फेर्नु छ भने जुन दिन फेर्नु छ, ठयाक्कै फेरी हाल्ने हो । मिडियालाई खुसुक्क थाहा दिनु पनि हुँदैन । आवाज उठाउन पाइन्छ । दिनुपर्छ । संविधानको विरुद्धमा कसैले चुनौति दिन्छ भने सामना गर्ने हो । होइन भने संविधान प्रदत्त अधिकारको प्रयोग गर्न पाईन्छ । यो देशमा गणतन्त्रलाई फाल्न खोज्यो भने बेग्लै कुरा हो । अब संविधानलाई नै उखेलेर फाल्न खोज्यो भने बेग्लै कुरा हो । तर न्यायको निम्ति, अधिकारको निम्ति । भनौं अत्याचारका विरुद्धको आवाज बुलन्द गर्नका निम्ति पाउनुपर्छ ।’

अध्यक्ष नेपालले न्यायको निम्ति, अधिकारको निम्ति लडनेहरुलाई कसैले पनि प्रतिवन्ध लगाउन नमिल्ने बताए।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्