भोजपुरमा प्रदेशस्तरीय भलिबल

टक्सार – ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ नाराका साथ आजदेखि भोजपुरमा कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा प्रतियोगिताका खेलहरु सञ्चालन भइरहेका छन्।
उद्घाटनको दिन आज आयोजक जिल्ला खेलकुद विकास समिति र जनप्रतिनिधिको टोलीबीच मैत्रीपूर्ण खेल खेलाइएको थियो। उक्त खेलमा खेलकुद विकास समितिले जनप्रतिनिधिको टोलीलाई २–० सेटले पराजित गरेको छ। त्यसअघि उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य विनोद बान्तवाले गरेका थिए।
प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका, मोरङको बेलवारी नगरपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका तथा झापाको दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका सहभागी रहेका आयोजक समितिका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिए। प्रतियोगिता यही माघ २७ गतेसम्म सञ्चालन हुनेछ। पहिलो हुने टोलीले रु एक लाख ५० हजार, दोस्रोले रु एक लाख तथा तेस्रो हुनेले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।
माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्