मित्रमिलन प्रकरणमा पक्राउ परेका विष्णुप्रसाद ७ लाख धरौटीमा छुटे

जिल्ला अदालत कास्की, पोखरा। तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार

पोखरा – पोखराको मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले भण्डारीलाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

सहकारी ठगीको आरोपमा फरार पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापकसमेत रहेका भण्डारीलाई प्रहरीले सोमबार राती पोखराको मालेपाटनस्थित डेराबाट पक्राउ गरेको थियो।

मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर उनको वयान लिने काम भयो। वयान नसकेपछि जिल्ला प्रहरी कार्यालयकै हिरासतमा थिए। बुधबार थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालत कास्कीका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले बताए।

३ हजार ४४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगी गरेको दाबीसहित सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। सहकारी ऐन, २०७४ ९दफा १२२ र १२४० अन्तर्गत सहकारी ठगीमा पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा मुद्दा दर्ता गराएको हो।

मित्रमिलन सहकारी प्रकरणमा पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा पत्रकार अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुलीलगायत ३२ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। हालसम्म ८ जना पक्राउ परेका छन्। भण्डारीसँगै यसअघि पक्राउ परेका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी भने धरौटीमा छुटेका छन्।

पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित सहकारीको क्षेत्र विस्तारको क्रममा घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल भने पुर्पक्षका लागि थुनामा छन्।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्