लोकगायक कुमार बस्नेत र राजन कार्की सम्मानित

पोखरा – ‘छोरी भन्दा आमा तरुनी’, ‘उनकै छोरी तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता थुप्रै रोचक पूराना लोकगीतमा श्रोतामाझ पस्किने सफल गायक हुन कुमार बस्नेत।

त्यतिबेलाको समाजलाई अलिक उट्पट्याङ लाग्ने रोमान्टिक गीत गाएका कुमार अझै पनि लोकसंगीतमै समर्पित छन्। उनै वरिष्ठ लोकगायक कुमार बस्नेत पोखरामा श्रष्टा सम्मानबाट सम्मानित भएका छन्। कल्याण शेरचन स्मृति प्रतिष्ठानले बस्नेतलाई श्रष्टा सम्मान प्रदान गरेको हो।

वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची लगायतले बुधबार बस्नेतलाई पुरस्कृत गरे। बस्नेतले सम्मानसहित ३३ हजार ३३३ रुपैयाँ नगद पाएका छन्।

स्वर्गिय कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा पोखरालाई कर्मथलो बनाइरहेका अर्का लोकदोहोरी गायक राजन कार्कीसमेत सम्मानित भएका छन्। उनलाई स्वर्गिय चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार प्रदान गरिएको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष कार्कीले पाएको पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्