विराटनगर क्रिकेट क्लब एकेडेमीले जित्यो मोरङ बी डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर क्रिकेट क्लब एकेडेमीले मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

बुधबार विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला स्पोर्ट्स खेलमैदानमा भएको उपाधि भिडन्तमा ग्रामथान क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्दै बिसिसिएले उपाधि चुमेको हो ।

रोमाञ्चक बनेको उपाधि भीडन्तमा टस जितेर ब्याटिंग गरेको बिसिसिएले निर्धारित ३० ओभरमा अल आउट हुँदै १ सय ३९ रनको योगफल बनाएको थियो ।

फाइनलमा बिसिसिएका लागि अनिल यादवले ४१, धिरज कामतले २३ रनको योगदान दिएका थिए ।

प्रतियोगिताको उपविजेतामा सीमित ग्रामथानका लागि आर्यन बास्कोटाले ३ र निर्वेश लुइँटेलले २ विकेट हात पारे ।

निर्धारित १ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा ग्रामथानकाले टोलीले समेत अल आउट हुदै १ सय ३९ रनको बराबरी खेल खेलेको थियो ।

ग्रामथानका लागि अनिल विश्वकर्माले २८, आर्यन बाँस्कोटा २० र निर्वेश लुइँटेलले १७ रन बनाएका थिए ।

विसिसिएका लागि रितेश झाले ४ र आर्यन शाहीले २ विकेट आफ्नो खातामा जोडेका थिए ।

उपाधिका लागि निर्धारित ओभरमा दुवै टोलीले बराबर १ सय ३९ बनाएपछि उपाधिको निर्णय सुपर ओभरबाट गरिएको जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसी बाबुले जानकारी दिए ।

अध्यक्ष कुरैसीले प्रतियोगितामा उत्कृष्ट ब्याटर विसिसिएका राहुल चौधरी ,उत्कृष्ट बलर विसिसिएका अभिषेक मण्डल र प्लेयर अफ द सिरिज पनि विसिसिएका कृतिक कामत घोषित भए । माघ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा मोरङबाट १६ वटा वि डिभिजन क्लबले सहभागिता जनाएका थिए।

माघ २४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्