भद्रगोल क्रिकेट छाडेर गएका पुवुदुलाई सम्हालिएकाे नेपालको चुनौती

करिब डेढ वर्षअघि दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमबाट राजीनामा दिँदै गर्दा तत्कालीन नेपालका प्रशिक्षक पुवुदु दसानायकीले नेपाली क्रिकेटको पछिल्लो प्रगतिबारे सायदै अनुमान गरेका थिए। उनले दोस्रो पटक नेपाली राष्ट्रिय टोली सम्हाल्दै गर्दा उनी पहिलाभन्दा ठूलो जोखिम मोल्नका लागि नेपाल आएका थिए।

तत्कालीन समयमा नेपाली क्रिकेट गुट-उपगुटमा विभाजित थियो। खेलाडीहरू क्यानसँग रुष्ट थिए भने क्यान खेलाडीसँग बदलाभावको भावनामा अघि बढेको थियो। यस्तोमा नेपाललाई अन्तर्राष्ट्रिय सफल्ताको चुनौती बोकेर आएका पुवुदुले नेपाली क्रिकेटको भद्रगोल परिस्थिति सम्हाल्न सकेनन्।

विश्वकप लिग- २ को यात्रामा लगातारको हारले नेपाली क्रिकेटले एकदिवसीय मान्यता गुमाउने संघारतर्फ अग्रसर थियो।

तीनै प्रशिक्षक पुवुदुले राजीनामा दिँदै भनेका थिए, ‘मेरो लागि अहिलेसम्मकै यो सर्वाधिक कठिन निर्णय हो। मेरो व्यक्तिगत कारणले राजीनामा दिएको हो। अहिले निर्णय गरिनँ भने पछि पछुताउनुपर्ने अवस्था आउन सक्छ।’

यसको अर्थ उनले आफ्ना आँखै अगाडि कम्तिमा नेपाली क्रिकेट ध्वस्त भएको हेर्न चाहेनन्। एकदिवसीय मान्यता गुमेको र घटुवा हुने संघारमा पुग्नु अगावै उनले कुटनीतिक तरिकाले नेपाली टोली छाडे।

उनले नेपाली टिम छाड्नु नेपाली टोलीका लागि साँच्चिकै ‘ट्र्याक’ मा आउने एउटा महत्त्वपूर्ण खुड्किलो सावित भयो। त्यसपछि नेपाली क्रिकेटमा आएका मोन्टी देशाईले नेपाली क्रिकेटमा ‘चामत्कारिक’ परिवर्तन मात्र गरेनन्।

उनले टिमलाई एकताबद्ध बनाए भने नेपालको एकदिवसीय मान्यता जोगाउँदै एकदिवसीय विश्वकपको ग्लोबल छनोट, टी-२० विश्वकप एसियाकपलगायत महत्त्वपूर्ण प्रतियोगितामा नेपाललाई पुर्‍याउँदै साँच्चिकै नेपाली क्रिकेटलाई अर्को अध्यायमा पुर्‍याए।

पुवुदु घरायसी कारण देखाएर नेपाल छोडेर गएको केही दिनमै क्यानडाको मुख्य प्रशिक्षक नियुक्त भए। उनले खस्कँदाे क्यानडाको क्रिकेटलाई केही हदसम्म ट्र्याकमा ल्याएका छन्। तीनै पुवुदु नेपाल छाडेर हिँडेको करिब डेढ वर्षपछि फरक भूमिकामा टियु मैदानमा बिहीबार देखिने छन्।

उनले देख्दा भद्रगोल र अनिश्चित भविष्यमा अग्रसर नेपाल अहिले एकताबद्व र फेरिएको र बलियो एसोसिएटेड देशका रूपमा रहेको छ। क्यानडा भने संघर्षपूर्ण विगतबाट तंग्रिने सुरुमा छ।

आफ्नो पुरानो र गहिरो नेपालको नाताका कारण र बलियो र फेरिएको नेपाली टिमसँग उनले क्यानडालाई एक्सपोज गराउने प्रयास गरेका छन्। जसको सिलसिला आजबाट हुने तीन खेलको एकदिवसीय सिरिजबाट हुने छ।

टियु मैदानमा तीन खेलको एकदिवसीय सिरिजअघि आयोजित प्रि-म्याच कन्फ्रेन्समा उनले क्यानडाको दशक अघिको बलियो विरासत सम्झिए। अनि बीचमा गुमाएको ट्र्याक र अहिले पुन विश्वकप लिग- २ को ट्र्याकमा फर्किँदाको उत्साह साटे।

उनले लिग- २ को युएई विरुद्धको सिरिजमा नेपालसँगको अभ्यास खेल प्रभावकारी हुने बताए।

पुवुदुले भने, ‘हामीलाई लिग- २ को तयारीका लागि नेपालमा निमन्त्रणा गरेकोमा क्यानलाई धन्यवाद! नेपाल हाम्रो लागि तयारी गर्ने सबैभन्दा राम्रो ठाउँ हो। मलाई यहाँको क्रिकेट वातावरण र समर्थकको अटुट विश्वास र प्रेमबारे राम्रोसँग थाहा छ।’

उनले नेपाली टोलीले क्यानडा भ्रमणसमेत गर्ने विश्वास व्यक्त गरे।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्