युद्धविरामबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन। फाइल तस्बिर।

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) सँगको युद्ध पाँचौं महिना प्रवेश गरेको बेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार इजरायल आइपुगेका छन्।

साउदी अरबा, इजिप्ट र कतारपछि मध्यपूर्वको भ्रमणका क्रममा उनले इजरायलमा नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

द्वन्द्वको सुरुमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको कतारले हमासले युद्ध रोक्नका लागि नयाँ प्रस्तावित सम्झौताको जवाफ दिएको बताएको छ।

इजरायली गुप्तचर संस्था मोसादले पनि हमासको जवाफ प्राप्त गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ।

इजिप्टसँग जोडिएको गाजाको दक्षिणी सीमामा रहेको राफा शहरतर्फ इजरायली सेनाले आक्रमण गरेपछि युद्धविरामका लागि दबाब बढेको छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणका कारण करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीबाट पुष्टि गरेको तथ्यांकले देखाएको छ।

लडाकूहरूले लगभग २५० बन्धकहरूलाई कब्जामा लिएकोमा गाजामा १३२ जना अझै बाँकी रहेको र कम्तीमा २७ जना मारिएको अनुमान इजरायली स्रोतले एएफपीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्