फोनमा धम्काएर ५ करोड फिरौती माग, बेला-बेला बुझ्न पुगरिहन्थे धम्कीको ‘साइड इफेक्ट’

पक्राउ परेका लक्ष्मण दर्जी र दीपकबहादुर क्षेत्री।

पोखरा- भारतीय सिमकार्ड प्रयोग गरेर ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ।

पर्वतको कुश्मा नगरपालिका- २ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै कुश्मा नगरपालिका- १४ आर्थरका दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे सार्वजनिक गरेको छ।

‘सच्चाइ केन्द्र’का अध्यक्ष पकाशदीप गैरेलाई टेलिफोन र म्यासेजमार्फत् ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए।

‘प्रकाशदीप गैरेको सम्बन्धमा युट्युबमार्फत् भिडियो हेर्ने गरेको पाइयो। सच्चाइको पैसा दिन सक्ने व्यक्ति अनुमान लगाएर माघ १३ गते सच्चाइ केन्द्रमै पुगेर १/२ घण्टा बसेर प्रकाशदीप गैरेको नम्बर लिएर आएको भेटियो, ‘ प्रारम्भिक बयानबारे एसपी थापाले उल्लेख गरे।

पत्रकार सम्मेलनमा बाेल्दै एसपी माेहनबहादुर थापा (बायाँबाट दाेस्राे)

एसपी थापाका अनुसार माघ १८ गते गैरेलाई ५ करोड फिरौती माग्दै फोन र म्यासेज गरेका थिए। ‘५ करोड रुपैयाँ परिवारको सुरक्षाका लागि तयार गर्नुहोला। कहाँ कसरी दिनेबारे हामी पछि भन्नेछौं। फिल्मी शैलीमा धम्काउँदै फोन म्यासेजमा भने थिए, ‘ उनले भने।

फोनमा फिरौती माग्दै धम्काएका दर्जी र क्षेत्री पर्सिपल्ट धम्कीको ‘साइड इफेक्ट’ बुझ्न लामाचौरमा रहेको सच्चाइ केन्द्रमै पुगे। फेरि माग २३ गते पनि सच्चाइ केन्द्र पुगेर आधा घण्टा बिताए। बुधबार भने दुवै जना प्रहरीको फन्दामा परेका छन्।

यी दुवैले १ महिना अगाडि मात्रै कास्कीको पोखरा महानगरपालिका- ८ सीमलचौरमा डेरा लिएर बस्न थालेका थिए। डेराबाटै प्रहरीले पक्राउ गरेको हो।

लक्ष्मण ४ वर्ष कतार बसेर नेपाल फर्किएका हुन्। उनी नेपाल फर्किएको १ महिनामात्रै भएको छ। प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार विदेशबाटै योजना बुनेको अनुमान गरिएको छ।

बरामद गरिएकाे सामान।

उसो त दीपकबहादुर क्षेत्री गतवर्ष मात्रै जिल्ला प्रहरी कार्यालय, पर्वतमा हातहतियार तथा खरखजनासम्बन्धि मुद्दा चलेका व्यक्ति हुन्। उनीविरुद्ध २०७१ सालमा कास्कीको वडा प्रहरी कार्यालय, बैदामबाट अभद्र व्यवहारमा मुद्दा चलेको प्रहरीको अभिलेखले बताउँछ।

प्रक्राउ परेका दर्जी र क्षेत्रीको साथबाट किताबदेखि बन्दुकमा लाग्ने केपसम्म फेला परेको छ। इजोरिया, चिना हराएको मान्छेसहित ३ थान पुस्तक बरामद भएको हो।

यस्तै, २ थान मोबाइल सेट, १ भारतीयसहित ५ थान सिमकार्ड, खुकुरी १ थान, लागुऔषध गाँजा ५७५ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, मुगा १४ थान, कालोटर्च २ थान बरामद भएको छ।

फलामको ह्याक्सा ब्लेड, रन्दा मेसिन, गेलेण्डे मेसिन र पेन्चिस १/१ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

नोटबुकसँगै विभिन्न व्यक्तिको नाम लेखेको कागजको पन्नासमेत फेला परेको एसपी थापाले बताए । ‘रिच किड लेखेर नेता व्यापारी, गुण्डा, भू-माफिया, मेडिकल माफिया, म्यानपावर माफियाको नाम उल्लेख छ, ‘ उनले भने,  ‘पक्राउ परेका विरुद्ध थप अनुसन्धान सुरु हुनेछ।

एसपी थापाका अनुसार लागुऔषध, हातहतियार र अपराधिक लाभसम्बन्धि मुद्दामा अनुसन्धान हुनेछ।

 

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्