पाकिस्तानमा मतदान सुरु, देशभर माेबाइल सेवामा प्रतिबन्ध

तस्बिर: गेटी इमेज।

पाकिस्तानमा आम निर्वाचन जारी छ। आम निर्वाचन चलिरहँदा देशभर मोबाइल सेवा बन्द गरिएको छ।

पाकिस्तानको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशमा हालै भएका आतंकवादी घटनाका कारण धेरैको ज्यान गएको छ। शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतराहरू सामना गर्न सुरक्षा उपायहरू अपनाउन आवश्यक छ। त्यसैले देशभर मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो।’

राष्ट्रियसभाका ३३६ सिटमा आज मतदान भइरहेकाे हाे। सरकार बनाउन १६९ सिट चाहिन्छ।

दुई वर्षअघि देशमा अविश्वासको प्रस्ताव ल्याएर पूर्वप्रधानमन्त्री इमरान खानको सरकार गिराएको थियो र अहिले उनी भ्रष्टाचार मुद्दामा जेलमा छन्। उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ।

तीन पटक देशको प्रधानमन्त्री भइसकेका नवाज सरिफ यसपटक चुनावी मैदानमा छन्।

विश्लेषकहरू भने यो पाकिस्तानको अहिलेसम्मको सबैभन्दा कम विश्वसनीय चुनाव भएकाे बताउँछन्।

पाकिस्तान आर्थिक संकट, २०२२ मा आएको भीषण बाढी, मुद्रास्फीति र चरमपन्थी घटनासँग संघर्ष गरिरहेको छ।

देशमा हिंसा र अतिवादका घटना बढ्दै गएका छन्।

हिजैमात्र बलुचिस्तान प्रान्तमा उम्मेदवारहरूको कार्यालय बाहिर दुईवटा बम विस्फोट भएको थियो। जुन घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्