फेसबुकमा टिप्पणी गर्ने कर्मचारीलाई कारवाहीको माग

दाङ- नेपाल निजामती कर्मचारी संगठन, गढवा गाउँपालिकाले सामाजिक सञ्जाल फेुसबुकमार्फत् टिप्पणी गर्ने एक कर्मचारीलाई कारवाहीको माग गरेको छ ।

गाउँपालिका योजना शाखा प्रमुख प्रेमप्रकाश दाहालले फेसबुकमार्फत् गरेको टिप्पणी बारे यथार्थ छानविन गर्न कर्मचारी संगठनले माग गरेहो हो ।

यसका साथै, उक्त घटनाबारे यथार्थ पत्ता नलाग्दासम्म उनलाई जिम्मेवारीबाट अलग गर्नसमेत माग राखिएको छ।

शाखा प्रमुख दाहालले सामाजिक सञ्जाल फेसबुकमा गरेको एउटा कमेन्टका कारण उनी विवादमा तानिएका हुन् । दाहालले समाचार लिंकमा टिप्पणी गर्दै ‘एमाले भन्ने पार्टीका कार्यकर्तादेखि कर्मचारीसमेत महान भ्रष्ट हुन्छन् । हाम्रो कार्यालयमा समेत एमालेका कर्मचारी विश्वको एक नम्बर भ्रष्ट देखिन्छ’ भन्ने टिप्पणी गरेका थिए ।

निजामती कर्मचारी संगठन, गढवा गाउँपालिकाका अध्यक्ष कुलराज कुमालले विज्ञप्ती जारी गर्दै ‘यस्ता कर्मचारीबाट निष्पक्ष सेवाको अपेक्षा गर्न सकिन्न’ भन्ने टिप्पणी गरेका छन् ।

निजामती कर्मचारी सेवा ऐन २०४९ ले निर्दिष्ट गरेको कर्मचारीको आचरण सम्बन्धि व्यवस्थाको ठीक विपरित चरित्र एक अधिकृत स्तरको कर्मचारीले प्रदर्शन गर्नु समग्र कर्मचारी वर्गलाई लज्जाको विषय भएको विज्ञप्तीमा जनाइएको छ ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्