‘मुलुक गहिरो आर्थिक मन्दीमा जाँदैछ’

डा. युवराज खतिवडा। फाइल तस्बिर।

काठमाडौँ – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताएका छन्।

उनले नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेशण (रेमिट्यान्स) मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने बताएका हुन्। मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र बाह्य क्षेत्रमध्ये अहिले राम्रो भएको बाह्य क्षेत्र मात्रै भएको दाबी गरे।

उनले बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक रुपमा अर्थतन्त्रमा सुधार नआएको भन्दै सरकारले अर्थतन्त्र लयमा आयो भनेर भन्नु धर्म निर्वाह गर्नु मात्रै भएको टिप्पणी गरे। उनले सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा बाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको उल्लेख गरे।

उनले उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र गरी तीन वटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणामस्वरुप चौथो बाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको दाबी गरे।

पूर्वअर्थमन्त्री खतिवडाले दुई वर्षको बीचमा निर्यात ४० प्रतिशतले घटेको भन्दै चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको बताए।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्