सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुका लागि सुरु भयाे क्यान इन्फोटेक मेला (तस्बिरसहित)

काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपमा बिहीबार २९ औं क्यान इन्फोटेक मेला सुरु भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा बिहीबारदेखि माघ २९ गते सम्म मेला चल्नेछ।  मेलाको उद्घाटन सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले गरेकी हुन्।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले मेला सुरु गरेको क्यान महासंघले जनाएको छ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिक रुपमा आयोजना हुने क्यान इन्फोटेक मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको महासंघले जनाएको छ।

मेलामा जानका लागि ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ। यसअन्तर्गत सर्वसाधारणका लागि रु १०० र विद्यार्थीका लागि रू५० शुल्क तोकिएको छ।

यस प्रर्दशनी सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास महासंघले लिएको जनाएको छ।

मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने आयोजकले दाबी गरेका छन्।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएको महासंघले जनाएको छ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेको थियो।

हेर्नुहोस् तस्विरहरु:

तस्बिरहरु: सुरेश पौडेल

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्