नक्कली नोट दिएर एउटै पसलबाट पटक–पटक सामान किन्दा ५ जना पक्राउ, ६१ हजार नक्कली नोट बरामद

वीरगञ्ज – नक्कली नोट दिएर पटक पटक एउटै पसलबाट सामान किन्दा नक्कली नोटसहित प्रहरीले बाराबाट पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ बस्ने सुमित साह,सन्तोष पटेल, पर्सा, वीरगञ्ज महानगरपालिका–१० बस्ने बिशाल कुमार श्रीवास्तव र निरज श्रीवास्तव छन्।

पक्राउ परेका महतोले पुस १० गते बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ स्थित किराना पसलबाट नक्कली नोट दिएर सामान किनेका थिए। उनी फेरि २० र ३० गते पनि नक्कली नोट लिएर सोही पसलमा सामान किन्न जाँदा पसले र स्थानीयले नियन्त्रणमा लिएर राखेका थिए।

महतो पक्राउ परेपछि उक्त नोट कारोबारमा संलग्न रहेका थप चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

उनीहरुको साथबाट एक हजार दरको ६१ थान नक्कली नोट र भारतीय सिमकार्ड सहितको मोबाइल सात थान बरामद गरिएकोे उनले बताए। उनीहरुमाथि  अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेले बताए।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्