सरकारले सूचना प्रविधिसम्बन्धी कानूनको तयारी गरिरहेको छः मन्त्री शर्मा

रेखा शर्मा। फाइल तस्बिर।

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधिसम्बन्धी कानूनको तयारी गरिरहेको बताएकी छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताएकी हुन्।

उनले नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको बताइन्। कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचनालगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेको उनको भनाइ थियो।

मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नवीन प्रविधिलाई आत्मसाथ गर्दै आविष्कार र नवप्रवर्द्धनमा जोड दिनुपर्ने बताइन्।

उनले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआईजस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्