सुरक्षण मुद्रण गर्नुपर्ने काम निजी क्षेत्रलाई नदिइने

काठमाडौँ – सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्रीहरुलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने भएको छ ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरुको संशोधनउपर छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरु मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो।

विधेयकमा सुरक्षण मुद्रण गर्नुपर्ने राष्ट्रिय परिचय पत्र, नागरिकता, बैंक नोट र राहदानीबाहेकका सामग्रीहरुलाई अन्य व्यक्ति वा निकायहरुमा पनि दिन सकिने व्यवस्था आएपछि सांसदहरुले संशोधन हाल्दै सरकारी निकायभन्दा बाहिर मुद्रण गर्न दिनु नहुने बताएका थिए। सोही संशोधनउपर छलफल गर्दै समितिले सुरक्षण मुद्रणसँग सम्बन्धित कुनै पनि सामग्रीहरु निजी क्षेत्रलाई नदिने गरी सो विषय टुंग्याएको हो।

यद्यपि, नेपाल सरकारले नसकेको खण्डमा सरकारकै स्वामित्वमा रहेका निकायहरुलाई भने मुद्रणको जिम्मेवारी दिन सकिने व्यवस्था गरिएको छ। बैठकमा बोल्दै समिति सदस्य देवेन्द्र पौडेलले निजी क्षेत्रलाई पैसा दिएर गराउनुपर्ने काम सार्वजनिक संस्थाहरुलाई नै गराउन सके ती संस्थाहरुको समेत उन्नति हुने बताए।

त्यस्तै, प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले सुरक्षण मुद्रण सुरक्षाको हिसाबले पनि चुनौतीपूर्ण हुने भन्दै निजी क्षेत्रलाई दिएमा सुरक्षा नहुने धारणा राखिन्। उनले दुरुपयोग हुँदा त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिन्।

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सार्वजनिक संस्थाहरुलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै सरकारले नसकेको सुरक्षण मुद्रणको काम सार्वजनिक संस्थाहरुलाई दिनुपर्नेमा जोड दिइन्। निजी क्षेत्रलाई दिँदा नियमन गर्नसमेत चुनौती रहेको उनको भनाइ थियो।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्