सरस्वती पूजाका लागि मूर्ति बनाउने चटारो

जनकपुरधाम – सरस्वती पूजाको दिन नजिकिँदै गर्दा जनकपुरधाममा कालिगढहरु मूर्तिलाई अन्तिम रुप दिनमा व्यस्त छन्। यतिबेला मूर्तिकारहरु सरस्वतीको मूर्तिमा रंगरोगन गर्न व्यस्त छन्।

जनकपुरधाम उपमहानगरपालिका–४ शुकरबारी बजारमा विगत १८ वर्षदेखि मूर्ति बनाउँदै आएका लक्ष्मी पण्डितले यो वर्ष मूर्तिको मागमा कमी आएको बताए। उनले आफूले अर्डरअनुसारको मूर्ति बनाएको तर पछिल्लो वर्षको तुलनामा मूर्तिको मागमा कमी आएको बताए।

हप्तौँ अगाडिदेखि मूर्ति बनाउन सुरु गरेकोमा अब मूर्तिलाई रंगरोगन गर्ने काम गरिरहेको पण्डितले बताए। उनले आफूले बनाएको मूर्तिको न्यूनतम मूल्य ३ हजार ५ सय रहेको र मागअनुसार ठूलो मूर्तिको बढी पनि लिने गरेको बताए।

पण्डितले मूर्ति बनाउनका लागि माटोदेखि लिएर सबै सामान किनेर ल्याउनु परेको र मूर्ति बनाउनमा युवाहरु रुचि नदेखाउने गरेकालेसमेत मूर्तिको मूल्यमा वृद्धि भएको बताए।

जनकपुरधामका दर्जनौँ विद्यालयले पूजापाठ गर्ने गरेकाले सरस्वतीको प्रतिमा बनाउने गरेका छन्।

यता, आगामी बुधबार हुने सरस्वती पूजाको दिन विद्यार्थीलाई स्कुल ड्रेसमै पठाउन निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले आग्रह गरेको छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्