महाकवि देवकोटाले गजल लेखेका थिए?

काठमाडौँ- गायक सन्तोष श्रेष्ठको एउटा सिर्जना दुई साताअघि युट्युबमार्फत सार्वजनिक भएको छ। गायक श्रेष्ठले आफूले गाएको गीत महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल हो भनी उल्लेख गरेका छन्। यद्यपि ६४ वर्षअगाडि यस पृथ्वीबाट बिदा भएका महाकवि देवकोटाले महाकाव्य, खण्डकाव्य, उपन्यास र प्रसस्त निबन्ध लेखे पनि गजल लेखेको पाइँदैन। त्यसो भए गायक सन्तोष श्रेष्ठले देवकोटाको गजल कसरी गाए त?

यो प्रश्न हामीले सन्तोष स्वयंलाई सोध्यौँ- महाकविले कुनै संग्रहमा समावेश नगरेको गजल तपाईँले कहाँ फेला पार्नुभयो?

यसको जवाफमा उनले पुरानो घटना खोतले।

उनले भने, ‘९, १० वर्षअगाडिको कुरा हो, इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक नृपध्वज खड्काले मलाई महाकवि देवकोटाको नाटक ‘सावित्री सत्यवान’ देखाउँदै भन्नुभयो- यो नाटकभित्र एउटा सिर्जना छ, तपाईँले गर्नु पर्‍यो।’

उनले त्यत्ति भने पनि सन्तोषलाई लाग्यो-  देवकोटाका कविता र गीत धेरैले गाइरहेका छन्, मैले गर्दा १ मा २ होला, २ मा ३ होला! उनले यसबारे धेरै ध्यान दिएनन्। त्यो विषय त्यत्तिकै हरायो।

करिब ४ वर्षअघि गजलबारे अध्ययन/अनुसन्धान गरेका डा. कृष्णहरि बरालसँग साङ्गीतिक सहकार्य गर्दा उनले आफूले लेखेको एउटा किताब सन्तोषलाई दिए- गजल: सिद्धान्त र इतिहास। उक्त किताबमा देवकोटाबारे लेखिएको अंशमा बरालले लेखेका थिए-  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘सावित्री सत्यवान’ नाटकभित्र एउटा पूर्ण र उत्कृष्ट गजल छ, त्यसलाई हामीले पूर्ण र उत्कृष्ट गजल मान्नुपर्छ।

बरालले लेखेको त्यो किताबमा ‘आकाशमा शशि छन्…’ शीर्षक उक्त गजलका केही शेर पनि उल्लेख रहेको सन्तोषले बताए।

बरालको किताबमा यत्ति थाहा पाएपछि सन्तोषले ‘सावित्री सत्यवान’ नाटक किनेर पढे। उक्त नाटक ५ अंकमा विभाजित छ। ‘तेस्रो अंकको अन्तिममा ६ लाइनको यो गजल रहेछ,’ सन्तोषले भने।

यसबारे डा. बरालसँग कुरा हुँदा उनले सन्तोषलाई भनेछन्- यो गजल गाउनुस्, ऐतिहासिक काम हुन्छ।’

यद्यपि कोरोना महामारीका कारण उनले उक्त समयमा त्यो काम गर्न सकेनन्। उनले भने-  देशमा कोरोना आएको थियो, म त्यो समय दाङमा थिए। दाङ संस्कृत विश्वविद्यालयका सहप्राध्यापक, गजलकार, कवि, गीतकार समालोचक नारायण नेपालसँग भेट भयो। उहासँग छन्द र बहरको प्रशस्त ज्ञान भएकाले मैले उहाँसँग छलफल गरेँ।’

नारायण नेपालले भने-  हेर्दाखेरि यो दिक्पाल छन्दमा रहेको देखिए पनि बहरको हिसाबले यो पूर्ण गजल छ।’

गजल यस्तो छ:

आकाशमा शशी छन् पृथिवी बसेर रुन्छु 
ती मेघका अटाली हेरेर नेत्र धुन्छु 

जुनमा सुरेली खेली मन पुग्न खोज्छ माथि 
ओर्लन्छ बीचबाटै खस्दा झसङ्ग हुन्छु

सङ्लिन्छ छाती मेरो ऐना तलाउ बन्छ 
ती चन्द्र छाती राखी हेरेर चलमलिन्छु।

सन्तोषलाई लाग्यो- अब महाकविको यो रचनामा काम गर्नैपर्छ!

अनि उनी निकै मेहनतसाथ यो गजललाई रेकर्ड गर्नतर्फ लागे। उनले सम्झिए-  महाकविको सिर्जना आउनु भनेको रहर मात्र होइन, कसरी हुन्छ, म उत्कृष्ट बनाउन लागेँ, त्यसको उच्चारण र मौलिकता नबिग्रियोस् भनेर नारायण नेपाल सरलाई नै सुनाउँदै यो गजल रेकर्ड गरेँ।

गायक श्रेष्ठले गत माघ १२ गते यो गजल सार्वजनिक गरे। त्यस क्रममा महाकवि देवकोटाका छोरा प्रा. डा. पदमप्रसाद देवकोटा पनि उपस्थित थिए।

गजलमा नै विद्यावारिधि गरेका डा. कृष्णहरि बरालले पनि त्यो गजल देवकोटाले नै लेखेको साबित्री सत्यवानमा रहेको बताए। उनले भने, ‘यो नाटक यो बि. सं. १९९७ मा आएको थियो। त्यो बेला नाटकभित्रै गीत हुन्थ्यो। कुनै कुनै नाटकमा त १०० ओटा पनि गीत छन्।’

बरालका अनुसार त्यो नाटकमा देवकोटाले गजल नलेखेर गाना लेखेका थिए।

उनले भने- देवकोटाले गाना लेखेका थिए, तर त्यो गजलको संरचनामा छ। गजलको पहिचानमा भएकाले त्यो गजल हो। मैले मेरो किताबमा गजल हो भनेर चर्चा गरेको छु। सन्तोषले पढेर थाहा पाए।’

पहिले अङ्ग्रेजी र संस्कृतको नाटकमा पनि गीतगजल हुने उनले बताए। महाकविको बारेमा धेरैले विद्यावारिधि गरे पनि गजल नै खोजेर महाकविको बारेमा विद्यावारिधि कसैले नगरेकोले अरुले थाहा नपाएको उनले बताए। उनले भने, ‘मैले विश्वविद्यालयमा नाटक पढाउनुपर्ने भएकोले सबै किताब पल्टाएर हेर्न पर्थ्यो। मैले गजलमा पनि अध्ययन गर्नपर्ने भएकोले मलाई नाटकभित्र पनि गजल हुन्छ भन्ने थाहा थियो। त्यसैले मैले खोज्दा भेटेको हुँ।’

महाकविले लेखेको गजल:

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्