विकास र सुशासनका लागि एमालेको सरकार हुनुपर्छः ओली

‍वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको बहुमतमा सरकार बने मात्रै जनताको हितमा हुने बताएका छन्।

रौतहटमा बिहीबार आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा गठबन्धनको नभई जनताको सरकार बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिए।

विकास र सुशासनको लागि एमालेको सरकार हुनुपर्ने बताउँदै उनले मिशन–८४ लाई ध्यानमा राखेर पार्टीको सुदृढीकरण, सदस्यता बढाउने, कमिटी विस्तार र परिचलानतर्फ लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए।

उनले विभिन्न किसिमका भ्रमबाट जनतालाई बचाउनको लागि जनताका बीचमा गएर जनतालाई सचेत गराउनेतर्फ ध्यान दिन पार्टीका कार्यकर्तालाई आग्रह गरे। मधेशमा विनम्रताको कमी रहेकोले यस प्रदेशमा सबैलाई मनपर्ने व्यवहार गर्नुपर्ने उनको भनाइ थियो।

एमाले सरकारमा भएको बेला कर्मचारीको तलब २५ प्रतिशतले बढाएको दाबी ओलीको थियो। ज्येष्ठ नागरिकको भत्ता, नयाँ राजमार्ग बनाउने, पुरानो बाटो बनाउने अभियान चलाउने कार्य एमालेले मात्रै गर्ने गरेको उनको जिकिर थियो। अहिलेको सरकारले बनाएको विमानस्थल पनि चलाउन नसक्ने भन्दै उनले एमालेको सरकार भएको भए निजगढ विमानस्थल अहिलेसम्म बनिसक्ने दाबी गरे।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्