पोखरा – पर्यटकीय नगरी पोखरा बेलाबखत उत्सवमय बन्छ। कहिले मेलामहोत्सव त कहिले खेलकुदमय हुन्छ। गीतसंगीत र कलासंस्कृतिको उत्सवमा रमाउने अवसर पनि पोखरेलीले पाइरहेका हुन्छन्।

फागुन पहिलो साता पोखरा साहित्यमय बन्दै छ। पर्यटकको रोज्जा थलो फेवातालको किनारको बाराहीघाटमा ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल हुँदै छ। बुकवर्म फाउण्डेशनको आयोजनामा हुने फेस्टिबल फागुन ३ मा सुरु भएर ७ गते सकिनेछ।

५८ बढी सेसन हुने आयोजक संस्थाका सदस्य केशवशरण लामिछानेले जानकारी दिए। उनका अनुसार ३ सय बढी अतिथि सेसनमा सहभागी हुनेछन्। यसपालिको फेस्टिबलको विगतमा भन्दा भिन्न हुने उनको भनाइ छ।

‘हामीले विद्यार्थीलाई पनि उपयोगी हुने सेसनहरुलाई अलि महत्व दिएका छौं। त्यसका लागि २ दिन छुट्टाएका छौं’, लामिछानेले भने।

फेवातालपारिका कथा, आर्थिक मन्दीले पारेका प्रभावलगायतका विषय पनि यो पटक थपेको उनले बताए। पोखरा र सेरोफेरोलाई पनि प्रस्तुत गरिने उनको भनाइ छ। ‘हरेक दिनको अन्तिममा सांगीतिक कार्यक्रम गर्दैछौं’, लामिछानेले सुनाए।

कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदै छ। लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रमसमेत छ।

यसपालि फेस्टिबलमा सहभागी हुन विश्वचर्चित हलिउड फिल्म ‘ओपनहाइमर’ फेम्ड लेखक काई बर्ड आउनेछन्। उनी पुलित्जर पुरस्कार विजेतासमेत हुन्। यस्तै, ‘क्लाउड’ उपन्यासका लेखक चन्द्रहाँस चौधरी, लेखक जेनिस प्यारिअटलगायत विदेशी पाहुना पनि पोखरालाई साहित्यमय बनाउन उपस्थित हुने आयोजक संस्था बुकवर्म फाउण्डेसले जानकारी दिएको छ।

नेपालको संविधान र सुशासन विषयमा केन्द्रित रहेर पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठले विद्वत्व प्रवचन दिनेछन्।

फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडालगायतको सहभागिता रहनेछ।

अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायत पनि फेस्टिबलमा सहभागी हुन पोखरा आउँदै छन्।

जनमत पार्टीका नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैंकर अनिलकेशरी शाह, प्राध्यापक कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहनेछ।

गायक बद्री पङ्गेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा. नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने आयोजकले जनाएको छ।

११ वर्षअघि काठमाडौँबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल छैठौं संस्करणदेखि पर्यटकीय सहर पोखरामा हुँदै आइरहेको छ। सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाबाट सुरु भएको थियो।

फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए। ‘सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्नेछ’, उनको भनाइ थियो।

समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन बर्सेनि फेस्टिभल गरिरहेको भारी बताउँछन्।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको भारीको अनुभव छ। फेस्टिभलमा कला, साहित्य, गीतसंगीत, राजनीति लगायतका विषयमा बहस र अन्तरसंवाद हुने गर्छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्