वीरगञ्जमा विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने

वीरगञ्ज – वीरगञ्जमा आउँदो शनिबारदेखि अल्पाइन टी २० क्रिकेट टुर्नामेन्ट हुने भएको छ। बिहीबार आयोजक अल्पाइन माध्यमिक विद्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

वीरगञ्ज महानगरका १६ वटा निजी विद्यालयको सहभागितामा क्रिकेट टुर्नामेन्ट अगामी २७ गतेदेखि फागुन १९ गतेसम्म हुने आयोजक अल्पाइन माध्यमिक विद्यालयका सञ्चालक एवं प्रतियोगिताका संयोजक विनोदकुमार उपाध्यायले जानकारी दिए।

प्रतियोगितामा सहभागी भएका टिमलाई चार वटा समूहमा विभाजन गरिएको छ। प्रतियोगिता वीरगञ्जको नारायणी रंगशालामा आयोजना हुने उपाध्यायले बताए।

प्रतियोगिताको कुल लागत ६ लाख रहेको आयोजकले जानकारी दिएको छ।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्