‘महाजात्रा’ जोडीः विपिन र वर्षासँगै दिव्य र गौमाया

काठमाडौँ – प्रणय दिवसको सप्ताह सुरू भइसकेको छ। फेब्रुअरी १४ मा मनाइने दिवसको सुरुआत सात दिन अगाडि नै हुने गर्छ। माया गर्नेहरूले यसलाई विभिन्न रुपमा सप्ताह अगाडि नै मनाउने गरेका छन्। सोही सन्दर्भ पारेर फिल्म ‘महाजात्रा’ का निर्देशक प्रदीप भट्टराईले दुई जोडीको पोस्टर सार्वजनिक गरेका छन्।

फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो। फिल्म सोसल ड्रामा भएता पनि फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले ‘जात्रा’ शृंखलामा रुचाउँदै आइरहेका छन्। यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रुपमा थपिएका छन्।

‘हामीले देखाउने प्रेम अरू भन्दा फरक हुने गरेको छ। किनकि हाम्रो फिल्मको विषयवस्तु पैसासँग जोडिएको छ। यद्यपि जात्रै जात्रामा फडिन्द्र र सम्पदाको प्रेमलाई दर्शकले रुचाउनु भएको थियो,’ निर्देशक प्रदीप भट्टराईले भने,’हामीले देखाएको प्रेम जोडीसँगै मित्रता, परिवार र देश प्रतिको पनि छ। यसपटक जात्राभन्दा माथि उठेर महाजात्रा गरेका छौँ।’

निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए। अर्थात् यसमा हासो र रोदनको मिश्रण छ। अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ। नेपालमा यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन्। फिल्मको ‘वर्ड अफ माउथ’ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ।

फिल्ममा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय रहेको छ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन्।

माघ २५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्