मधेसमा धार्मिक स्थलमा जाने काँवरिया बाबाहरूको चहलपहल

वीरगञ्ज – माघ सुरु भएसँगै पर्सा–बारालगायत मधेसका जिल्लामा भगवान् शंकरको पूजा गर्न विभिन्न धार्मिक स्थलमा जाने काँवरिया बाबाहरूको चहल–पहल देखिने गरेको छ।
पर्सा–बारालगायत तराईका जिल्लामा काँधमा काँवर बोकेका शरीरमा पहेँलो धोती लगाएका मानिस भगवान् शंकरको पूजाका लागि घरबाट धार्मिक स्थल पुग्न निस्कने गरेका छन्।
साउनमा महिला–पुरुष दुवैले भगवान् शंकरको पूजा गर्ने गरे पनि माघमा विशेष गरी पुरुषहरू काँधमा काँवर बोकेर नेपाल तथा भारतका विभिन्न स्थानसम्म जाने गर्छन्।

माघमा काँवर बोकेर भगवान् शंकरको पूजाका लागि जाने काँवरिया बाबाले बिनाचप्पल–जुत्ता, शरीरमा धोतीको सहाराले घरबाहिरै बसेर पूजामा सहभागी हुनुपर्छ। कठ्यांग्रिँदो जाडोमा धोतीको सहाराले दिनरात बिताउनुपर्ने कठिन नियम नै भएकाले माघमा काँवर बोकेर भगवान् शंकरको पूजाका लागि जाने काँवरिया बाबाहरूको उत्साह भने कम हुँदैन।
काँवर बोकेर जाने बाबाहरूले धार्मिक यात्राको क्रममा निकै कठोर नियमबीच शुद्ध भई बस्नुपर्ने वीरगञ्ज महानगर बहुअरीका रामेश्वर गिरीले जानकारी दिए।

काँवर लिएर आएका बाबाहरूको स्वागत गर्न स्थानीयले आफ्नो घरमा पूजा राख्ने गर्छन्। जसलाई स्थानीय भाषामा बिटोर भनिन्छ। बिटोर भएकाको घरमा काँवर लिएर बाबाहरू पुग्ने गरेको तथा त्यहाँ हुने पूजामा सरिक भई एकदिन बसेर फेरि काँवर काँधमा बोकेर कावरिया बाबाहरू अर्को स्थानका लागि निस्कने गर्छन्।
नदी किनार वा घर बाहिर व्यवस्था गरिएको स्थानमा मात्रै बस्ने गरेको यसपालि पनि काँवर लिएर भारतको हरिद्वारको लागि जाँदै गरेको वीरगञ्ज महानगरपालिका ३० लालपर्साका महेन्द महतोले बताए।
एकदमै कडा नियम अनुसार काँवर लिएर जानुपर्ने भएकाले धामको क्रममा गाली गलौज गर्न नहुने,झुठो बोल्न नहुने लगायतका नियमहरू ह्ुने गरेको छ ।जाडो होस वा पानी परोस नुहाउनु पर्ने नियम पनि रहेकाले यो धाम शुद्ध भई गर्नुपर्ने भएकोले भगवान शँकरले पनि त्यसमा काँवरिया बाबाहरूको पुर्ण साथ दिने गरेको जिकिर गर्नु हुन्छ रबिन्द्र उपाध्यायको भनाई छ ।साउन महिना भगवान शँकरको बिशेष पुजा गरिने महिनाको रुपमा सबैलाई थाहा भएको भएपनि तराई मधेसमा माघ महिनामा पनि काँवर लिएर पुजाको लागि स्थानीय भक्तजनहरू नेपाल र भारतका बिभिन्न धार्मिक स्थलमा पुग्ने गरेका छन ।माघ महिनामा भने बिशेष गरि पुरुषहरू कडा नियमका बीच रहेर काँधमा काँवर बोकेर भगवान शँकरको पुजा गर्न जाने गरेका छन ।

 

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्