सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटन भन्दा धेरैले वृद्धि

सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटन भन्दा धेरैले वृद्धि भएको छ ।

जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/ ०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको छ ।

हाल दुई सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ । यसमा दुई सय ५७ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिएको सूचना अधिकारी राईले बताए ।

यस वर्ष उत्पादन दिने बिरुवाको सङ्ख्या बढेसँगै उत्पादन पनि बढेको उनको भनाइ छ । जिल्लाको आठ पालिकामध्ये खुम्बु पासाङ ल्हामू गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सुन्ताल खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख दुर्गाबहादुर तिरुवाले जानकारी दिए ।

जिल्लामा उत्पादित सुन्तलाको झण्डै ६० प्रतिशत हिस्सा थुलुङ दूधकोसीले ओगटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । थुलुङ दूधकोसीको देउसा क्षेत्र सुन्तलाखेतीको प्रचुर सम्भावना बोकेको ठाउँ भएकाले यहाँ बढी उत्पादन भएको ज्ञान केन्द्र प्रमुख तिरुवाले बताए ।

देउसालाई जिल्लाको सुन्तला भण्डारकै रुपमा लिइन्छ । सदरमुकाम सल्लेरीस्थित साप्ताहिक हाट नयाँबजारमा बिक्रीका लागि ल्याइने अधिकांश सुन्तला देउसाकै हुने गरेको ज्ञान केन्द्रका सुचना अधिकारी राईको भनाइ छ ।

ज्ञान केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार एक सय ३४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९/०८० मा एक हजार छ सय ९० मेट्रिकटन र चालु आर्थिक वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन सुन्तला उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्