बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा फिर्ता ल्याउन मालपोतद्वारा पत्राचार

काठमाडौँ-  चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया सुरु भएको छ।

तत्कालीन च्याम्पियन फुटवेयर प्रालिमा सरकारको शेयर कायम गर्ने नाममा सरकारी १० रोपनी जग्गा चौधरी ग्रुपले हत्याएको थियो। अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएसँगै सरकारी निकायहरूले जग्गा फिर्ता ल्याउन औपचारिक प्रक्रिया थालनी गरेका हुन्।

हाल चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा २१ दिनभित्र फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले पत्राचार गरेको छ। हाल चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले बिहीबार पत्र बुझेका छन्।

चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायणसिंह थापा र चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर अनुसन्धानमा परी हाजिर जमानीमा छुटेको अवस्थामा उनीहरूविरुद्ध मुद्दा दर्ता गर्नुअघि नै सरकारको नाममा जग्गा फिर्ता ल्याउन लागिएको हो।

मालपोत कार्यालयले पठाएको पत्रमा च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको जिल्ला काठमाडौँ नगर-३ सिट नं १०२०९४७-१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर-३ सिट नं. ९४७-२१ कि.नं. १६ क्षे.फ. ००४८७.०० वर्गमिटर जग्गा फिर्ता गर्ने स्रेस्ता लिएर आउन भनिएको छ। अदालतमा चलिरहेको मुद्दाको समानान्तर हुने गरी मालपोत कार्यालयले यो प्रक्रिया अघि बढाएको छ।

(*अन्यथा भएकाले यस समाचारको शीर्षक परिवर्तन गरेका छौँ।)

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्