नगरपालिकाबाट ३० हजार आर्थिक सहयोग लिन फर्जी बिहेको सिफारिस

फाइल तस्बिर ।

वीरगञ्ज- रौतहटको मौलापुर नगरपालिका- ९ मा नगरपालिकाबाट आर्थिक सहयोग लिनका लागि ‘फर्जी विवाह’को सिफारिस भएको पाइएको छ।

नगरपालिकाले विवाह गर्ने उमेर पुगेका छोरीका परिवारलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ। सोही सहयोग लिन फर्जी विवाह भएको पाइएको हो। वडाको सिफारिसमा पालिकाले निर्णय गरेर सो आर्थिक सहयोग गर्दै आएको छ। सोही क्रममा मौलापुर नगरपालिका- ९ का वडा अध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवास महिन्द्रराय यादवको छोरी सन्जु कुमारीको विवाह हुँदै गरेकाले पालिकाको निर्णय अनुसार सो अनुदान सहयोग उपलब्ध गराई दिन सिफारिस गरेका थिए।

वडा अध्यक्ष साहले गत पुस १८ गतेको मितिमा सो सिफारिस पालिकामा गरेका थिए। माघ २५ गते यादवको छोरी सन्जुको विवाह रौतहट जिल्लाको बृन्दावन नगरपालिका बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासँग विवाह भइरहेकाले पालिकाबाट दिइँदै आएको ३० हजार आर्थिक सहयोग उपलब्ध गराई दिनका लागि वडा अध्यक्ष साहले सिफारिस गरेका थिए।

वडा अध्यक्ष साहको सिफारिसका आधारमा पालिकाको निर्णयबाट सो रकम दिने भनेर निर्णय पनि भयो। लेखापालले ३० हजार रुपैयाँको चेक पनि सन्जुका बुवा महिन्द्रको नाममा काटे। तर जब सो चेक लिएर मेयर रिना साह महिन्द्रको घरमा पुगिन्, अनि झसङ्ग परिन्।

महिन्द्रको घरमा कुनै विवाह नै थिएन। वडा अध्यक्षले फर्जी सिफारिस गरी रकम घोटाला गर्न खोजेको बुझेपछि मेयर साहले चेक लिएर पालिका फर्किन्।

वडा अध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग दुरुपयोग गर्न खोजेपछि स्थानीयले विरोध गरेका छन्। वडाध्यक्ष साहले भने आफूले विहे कार्ड हेरेर सिफारिस दिएको बताए।

प्रमाण पुगेकोले सिफारिस गरिएको तर आफूलाई विहे छ कि छैन भनेर सिफारिस गर्ने बेला जानकारी नभएको उनले बताए। पछि आफूले छानबिन गर्दा निवेदकको छोरीको विहे गत वर्ष नै भइसकेको तर उसले नयाँ कार्ड छपाएर अनुदान रकम लिन आएको भनी खुलेको साहको भनाइ छ।

मौलापुरकी मेयर रिनाकुमारी साहको पहलमा ‘असहायको साथ मेयर’ कार्यक्रम विगत लामो समयदेखि कार्यान्वयन हुँदै आएको छ। यस योजनाबाट सयौं परिवारले लाभ लिइसकेका छन्।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्