पूर्वप्रदेश प्रमुख अहिराजद्वारा पृथ्वीनारायण शाह छात्रवृत्ति कोष स्थापना

पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना गरिएको छ। सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ। सप्तरीको रूपनगरस्थित गैर नाफामुखी क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेर ’राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गरेका हुन्।

रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैंक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने जानकारी क्याम्पसले दिएको छ। अक्षय कोषको आकार एक करोड रूपैयाँ पु¥याउने तत्कालीन लक्ष्य राखिएको कुरा क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल बताए। ‘अक्षय कोषलाई १० करोड रूपैयाँको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्र–छात्रालाई निशुल्क शिक्षा दिने हाम्रो सपना हो,’उनले भने।

डा.राजेश अहिराजको योगदानबाट प्रभावित भएर क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’मा ५१ हजार रूपैयाँ थप गर्ने घोषणा गरे।
अक्षय कोषमा रूपनगर निवासी रामप्रसाद खतिवडाले २१ हजार एक सय ११ रूपैयाँ, प्रमिला खतिवडाले ११ हजार एक सय ११ रूपैयाँ र दुवलक्ष्मी श्रेष्ठले १० हजार रूपैयाँ योगदान गरे।

डा.अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भनेर उक्त क्याम्पस रोजेको बताए। ‘मृत्युपछिको जीवन समेतलाई सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउनुपर्छ,’ उनले भने।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्