हुम्लामा आइपुग्यो पोषण तत्व मिसाइएको खाद्यान्न

सिमकोट- हिमाली जिल्ला हुम्लामा पैदल मार्गबाट पोषण तत्व मिसाइएको खाद्यान्न भएर आइपुगेको छ ।

उपभोक्ताहरुले धेरै वस्तु उपभोग गर्दा भिटामिन र खनिज प्राप्त हुने भए पनि एकै खालको खाना खाने हिमाली जिल्लाका महिना तथा बालबालिकाहरूलाई पोषण तत्व नपाइने भएको कारण खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले यस पटकबाट सो खाद्यन्न जिल्लामा पठाउने ब्यवस्था गरेको हो ।

कर्णालीका हिमाली जिल्लाहरुमा पठाउने पोषण तत्व मिसाइएको खाद्यान्नमध्ये हुम्ला जिल्लामा पाँच सय क्विन्टल खाद्यान्न शाखामा पैदल मार्गबाट ढुवानी भएर आइपुगेको लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले बताए ।

यो खाद्यान्न नियमित कोटा कै खाद्यान्नबाट आउनेछ । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा आपुर्ती गरिने खाद्यान्नमा पोषण तत्व मिसाएर पठाउने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गरेको हो ।

लिमिटेडको राजापुरस्थित आफ्नै मिलमा उत्पादित चामलमा भिटामिन, खनिज, फोलिक एसिड मिश्रणबाट तयार पारिएको चामलको आकारमा कर्नेलहरू (एफआरके) मिसाइएको हो । उनले पोषण तत्व मिसाईएको चामल आई पुगेको र सो खाद्यान्न हाललाई सिमकोट गाउँपालिका- ५ र ७ का छनौट भएका सेवाग्राहीलाई बिक्री गरिने बताए ।

विश्व खाद्य कार्यक्रमले गरेको अध्ययनमा यी दुवै वडामा स्थानीयमा कुपोषण देखिएको थियो । यो पोषण तत्व मिसाउने कार्यमा पनि कार्यक्रमले सहयोग गरी रहेको छ ।

सो खाद्यन्न लिमिटेडको शाखाले हाल कै परल मूल्यमा सो चामल बिक्री गर्नेछ । दुई वर्षका लागि कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्ला, र कालिकोटका लागि ७२ हजार क्विन्टल खाद्यन्न पोषण तत्व मिसाइएको खाद्यान्न पठाएर बिक्री गरिनेछ ।

यसले स्थानीयको पोषणमा सुधार आउने विश्वास लिमिटेडले गरेको छ ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्