पहिचान पक्षधरसँगको वार्ता सकारात्मकः मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले पहिचावादीसँगको वार्ता सकारात्मक भएको बताएका छन्।

पहिचानवादीसँगको वार्तालाई सरकारले सकारात्मक रुपमा लिएको भन्दै मुख्यमन्त्री कार्कीले वार्ताबाट प्रदेशमा शान्तिपूर्ण वातावरण बन्ने र समग्र विकास, समृद्धिको कामले तिव्रता पाउने बताए।

सरकारतर्फबाट वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुले सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढंगले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने सहमति भएको जानकारी दिए।

वार्ता समिति संयोजक जबेगुका अनुसार पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, घाइते भएकाको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिने र फागुन १० गतेअगावै दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको जानकारी दिए।

कोशी प्रदेश नामाकरण खारेजीसँगै पुनः नामाकंन हुनुपर्ने भन्दै गतवर्ष फागुनबाट पहिचान पक्षधर आन्दोलनमा रहेका छन्। पहिचान पक्षको आन्दोलनका क्रममा युवा नेता पदम लाजेहाङको मृत्यु भएको थियो।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्