रास्वपाप्रति गगन थापाको टिप्पणीः जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्

फाइल फोटो।

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन्।

शुक्रबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै निर्वाचनमा भाग लिएकोजस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताए।

उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए। उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काम गरिरहेको टिप्पणी गरे।

उनले भने, ‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन्? एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन्। तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो। तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ। तिनीहरु हिजोको अध्याँरोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ। त्यो पुनःरुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ।’

उनले थपे, ‘योसँगै अर्को एउटा प्रवृत्ति आएको छ, जसले हेर्दै गर्दा संविधान मानेकोजस्तो देखिन्छ। जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ। यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ। यसले गणेशमान मान्दैन, यसले बिपी कोइराला मान्दैन। यसले २०४६ सालको आन्दोलन मान्दैन। यसले ०६२ सालको आन्दोलन मान्दैन। यसले हाम्रो संघर्षको उपहास गर्दछ। यसले विधि, प्रक्रिया मान्दैन। म जादुगर हुँ भनेर आउँछ। यो पनि यो लोकरिझ्याँको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ।’

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्