आगलागीबाट घाइतेलाई एक लाख सहयोग

सिमकोट – खार्पुनाथ–५ को घाँस काट्ने मेलामा बिहीवार आगलागी हुँदा जलेर घाइते भएकी लक्षिमा सिंहलाई वडाध्यक्षको पहलमा गाउँपालिकाले एक लाख सहयोग गर्ने भएको छ।

सिंहको उपचार सामुदायीक अस्पतालमा नहुने देखिएपछि थप उपचार गर्नका लागि गाउँपालिकाले सो आर्थिक सहयोग गर्ने भएको हो।
खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा गाउँपालिकाले तत्कालका लागि उपचार गर्न एक लाख सहयोग गाउँपालिकाले गर्ने भएको हो।

वडाध्यक्ष शाहीले सामाजिक सेवाभावले आगो निभाउने क्रममा जलेर आफै घाईते भएकी सिंहलाई उपचारमा आर्थिक सहयोग गर्न उपयुक्त देखिएको कारण सो सहयोग गरिएको बताए।

सहयोग रकम शुक्रबारै घाईते सिंहलाई दिइनेछ। आबश्यकता अनुसार थप सहयोग पनि गरिने उनले बताए। घाईते सिंहलाई गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायीक अस्पतालमा उपचार हुन नसक्ने भएपछि जिल्ला अस्पतालमा रिफर गरिएको र अहिले घाईते सिंहलाई जिल्ला अस्पताल ल्याउने कार्य भई रहेको छ। खार्पुनाथ गाउँपालिका– ५ याँङचु (डाँडाबाडा) गाउँ बस्ने वर्ष ५० की सिंह आगो निभाउन जाने क्रममा जलेर घाइते भएकी थिइन्।

सो वडाकै आसिकाट्ना देखि माथिको मेलामा आगो लगाएको थाहा पाएपछि सिंह निभाउनका लागि आगलागी भएको मेलामा गएकी थिइन्। घाइते सिंहको टाउको शरीरका विभिन्न भागसँगै हात जलेको छ।

उनको घरको आर्थिक अवस्था अति कमजोर भएको र जिल्ला बाहिर लैजान सक्ने अवस्था नभएकाले सामुदायिक अस्पतालमा भर्ना गरेर प्राथमिक उपचार भइरहेको छ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्