हावाहुरीले दुई दिनयता हवाई सेवा अवरुद्ध

सिमकोट – दुई दिनदेखि लगातार लागेको हावाहुरीले हिमाली जिल्ला हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको छ। विमानस्थल रहेको सिमकोट क्षेत्रमा बिहीबार बिहानैबाट लागेको हावाहुरी शुक्रबार पनि जारी रहेका कारण दुवै दिन हवाई सेवा अवरुद्ध भएको हो।

सिमकोट विमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाले विमानस्थल क्षेत्रमा लगातार हावाहुरी चलेको कारण हवाई सेवा अवरुद्ध रहेको बताए।
बिहीबार हावाको चाप ३८ नट रहेकोमा शुक्रबार त्यो घटेर १७ नटमा झरेको बताए।

विमानस्थलमा उडान भर्नका लागि हावा चाप आठ नटसम्म हुनुपर्ने जानकारी दिँदै उनले त्योभन्दा माथि भए उडान हुन नसक्ने बताए। यसरी दुई दिन लगातार हावाहुरी लागेर हउाडन अवरुद्ध भएको पहिलो पटक हो।

यसले गर्दा दुवै दिन नेपालगञ्जबाट तारा र समिट एयरले उडान भर्ने कार्यतालिका रहेकोमा त्यो रद्द भएको छ। यसले गर्दा दुबैतिरका यात्रु मर्कामा परेका छन्।

 

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्