लाहुरेको सहर पोखरामा ‘गोर्खा वारियर’

पोखरा – लाहुरेको सहरका रुपमा परिचित छ पोखरा। जहाँ नेपालीलाई सैन्य भर्ती लिइन्छ ती देशको लाहुरे बन्न खुट्टा उचालिरहेका युवा पोखरामा थुप्रो भेटिन्छन्। लाहुरे मोह पोखरामा कति छ पोखरा रंगशाला वरपर दौडिरहेका, डोकोमा ढुंगा हालेर सराङकोटको उकालो चढिरहेका युवाको लर्कोले पुष्टि गर्छ।

लाहुरेको सहर पोखरामा मलायाको जंगलमा गोर्खा सैनिकको लडाइँको कथामा निर्माण गरिएको फिल्म ‘गोर्खा वारियर’ प्रिमियर सो गर्ने भएको छ। फिल्मका निर्देशक मिलन चाम्सले पोखराले लाहुरेका सहर भएकाले प्रिमियर सो गर्ने घोषणा गरेका हुन्।

फिल्मको प्रचारका लागि पोखरा आइपुगेका चाम्सले पत्रकार भेटघाटमा फागुन ७ गते प्रिमियर सो गर्ने जानकारी दिए। चाम्सले इतिहासको संरक्षण गर्न फिल्म बनाएको बताए। ‘भिजियुलमार्फत संसारलाई देखाउन हाम्रो इतिहास के हो भनेर करिब ३ वर्ष लगाएर फिल्म बनाएका छौं’, उनले भने।

वीर गोरखालीको गाथामा आधारित भएर सिनेमा बन्नु आवश्यक रहेको उनको भनाइ छ। गोर्खा नेपालीले त्याग गरेर बनाएको अन्तर्राष्ट्रिय ब्राण्ड भएको बताए। ‘यो संसारभर चर्चित छ। हाम्रो टिम गोर्खा जस्तो विषयमा चलचित्र बन्नुपर्छ भनेर लागेका हौं’, निर्देशक चाम्स भन्छन्, ‘नेपाललाई चिनाउने सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खाको विषयमा चलचित्र बन्नु नै पर्छ जस्तो लाग्छ।’ चलचित्रमा झन्डै ५० वर्षअघिको नेपाललाई चित्रण गरेको उनले जानकारी दिए।
‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय रेड कार्पेट प्रिमियरले नेपाली सिने क्षेत्रलाई गर्माएको छ। सेन्ट्रल लन्डनको लेस्टर स्क्वायरस्थित आइम्याक्स सिने वल्र्डमा यो फिल्मको इन्टरनेसनल प्रिमियर भइसकेको छ।

आइम्याक्स सिने वल्र्ड हलिउड फिल्म प्रिमियर र अन्तर्राष्ट्रिय अवार्डका लागि प्रख्यात स्थानमा पहिलो पटक नेपाली फिल्मको इन्टरनेसनल प्रिमियर भएको हो। यो प्रिमियर नेपाली चलचित्र क्षेत्रको लागि ऐतिहासिक क्षण भएको निर्देशक चाम्सको अनुभव छ। फिल्म कोरियन भाषामासमेत डब भएर प्रदर्शन हुने उनले जानकारी दिए।

फिल्म फागुन ११ गतेदेखि प्रदर्शन हुनेछ। वास्तवितक घटनामा आधारित कथा रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, सारा राई, रियर राई, शिशिर वाङ्देल, कविता आले, सुरज तमु लगायत कलाकारले अभिनय गरेका छन्। फिल्मको निर्माता सुस्मिता वाइवा, सुमन राई हुन्। कार्यकारी निर्मातामा प्रशान्त थापा र राजेन्द्र घिमिरे छन्।

लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्म नेपाल र मलेसियामा छायांकन गरिएको हो। कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेका हुन्। रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठले कैद गरेको दृश्यलाई मिलन श्रेष्ठले काँटछाँट गरेका छन्।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्