विमानस्थल प्रमुख डीआईजी अर्जुन चन्द हेडक्वार्टर सरुवा

काठमाडौँ- त्रिभुवन विमानस्थलमा अध्यागनका अधिकारीहरु र सुरक्षाकर्मीबीच भएको मनोमालिन्यका बीच राजीनामा दिएका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ। प्रहरी प्रमुख वसन्तराज कुँवर र मानवस्रोत संशाधन विभाग प्रमुख एआईजी टेकप्रसाद राईले प्रहरी सेवा नछाड्न दबाब दिएपछि उनको राजीनामा फिर्ता गरिएको थियो। उनलाई दस दिन बिदामा बस्न सुझाव कुँवर र राईले दिएका थिए।

यसैबीच आईजी कुँवरकै सिफारिसमा डीआईजी चन्द हेडक्वार्टरअन्तर्गत प्रदेश समन्वय विभागमा सरुवा भएका हुन्। उक्त विभागमा एआईजी सुदीप गिरी प्रमुख छन्।

अध्यागमन र प्रहरीबीच विमानस्थलमा भएको कुटपिट र मनोमालिन्य प्रकरणका असन्तुष्टि जनाउँदै चन्दले गत शनिबार राजीनामा दिएका थिए। उनी खासगरी सुरक्षाकर्मीहरुलाई गरिएको कारबाहीप्रति असन्तुष्ट रहेको बुझिएको थियो। यद्यपि उनले राजीनामामा व्यक्तिगत कारण देखाएका थिए। उनको राजीनामालाई प्रहरीको मानवस्रोत संशाधन विभागले रीतपूर्वक नआएको भन्दै फिर्ता गरिदिएको थियो।

अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलमा कार्यरत प्रहरीले कुटपिट गरेको विषयमा विवाद बढ्दै गएपछि समग्र अध्यागमन कर्मचारीहरु नै सुरक्षाकर्मीहरुबिरुद्ध आन्दोलनमा उत्रिएका थिए। सोही प्रकरणमा आफ्ना सुरक्षाकर्मीहरु कारबाहीमा परेपछि चन्द असन्तुष्ट देखिएका थिए। अहिले उनी १० दिन बिदामा रहेको प्रहरी हेडक्वार्टर स्रोतले जानकारी दिएको छ।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्