चीनसँगको खेलमा युवा खेलाडीलाई अवसरः प्रशिक्षक एनेस

काठमाडौँ – नेपाली युवा टोलीका प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले चीनको टोलीसँग हुन लागेको मैत्रीपूर्ण फुटबलको लागि करिब एक साता तयारी गरेको र यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीलाई अवसर हुने बताएका छन्।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यु–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिबार मैत्रीपूर्ण खेल हुँदै छ। सोही खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसले टोलीमा युवा र क्षमतावान् खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै तयारी पनि राम्रो भएको बताएका हुन्।

यसको तयारी पोखरामा पनि गरेको प्रशिक्षकले उल्लेख गरे। उनले अधिकांश यु–२० उमेर समूहका खेलाडी र एक जना यु–१६ खेलाडी पनि टोलीमा समावेश गरेको बताए।

नेपालस्थित चीनियाँ राजदुतावास, राष्ट्रिय खेलकुद परिषद(राखेप), नेपाल पर्यटन बोर्ड र अखिल नेपाल फुटबल संघको संयुक्त आयोजनामा सो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ। खेल दशरथ रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुनेछ।

अधिकांश खेलाडी विदेसिएको समयमा यो मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि अवसर हुने उनले बताए। साथै प्रशिक्षक एनेसले नेपालबाट खेलाडी मात्र नभई धेरै जना विदेश जाने गरेको र जुन निकै दुःखद् पक्ष रहेको उल्लेख गर्दै पछिल्ला एक वर्षमा आफूले धेरै क्षमतावान खेलाडी गुमाउनुपरेको उनको भनाइ छ।

नेपाली छिमेकी राष्ट्र भारतको पछिल्लो समय एशियन कप आफूले हेरेको र त्यहाँ ६ वर्षदेखि राष्ट्रिय टोलीबाट नियमित रूपमा खेलेका खेलाडी रहेको बताए। भारतमा प्रशिक्षकले पनि लामो समय टिम हेर्न पाएकाले नतिजा राम्रो आएको धारणा राखे। यद्यपि, नेपालमा लगातार टोलीमा परिवर्तन भइरहनु दुःखद् पक्ष रहेको उनको धारणा छ।

एन्फाले चिनियाँ टोलीसँगको खेलका लागि मनिष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको छ। कप्तान मनिषले प्रशिक्षणका लागि आठ दिनको समय पाएको उल्लेख गर्दै समय कम भए पनि तयारी राम्रो भएको बताए।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्