कोसी प्रदेश सरकारमा थपिए ४ जना मन्त्री र दुई राज्यमन्त्री

मोरङ – कोसी प्रदेश सरकारमा चार मन्त्री र दुई राज्यमन्त्री थपिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसबाट प्रदीप सुनुवार, रामकुमार खत्री, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगरले मन्त्री पदको शपथ ग्रहण गरेका छन्।

उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। त्यसैगरी, कांग्रेस प्रदेश सभा सदस्य इन्दिरा थापा र सुनिता गुरुङले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा कांग्रेसबाट मन्त्रीमा पुरानै अनुहारलाई निरन्तरता दिएको हो। यद्यपि, राज्यमन्त्रीमा एकैपटक दुई महिला प्रदेश सभा सदस्यलाई पहिलोपटक राज्यमन्त्रीको अवसर हासिल भएको छ।

त्यसैगरी, केन्द्रतर्फबाट एक जना नयाँ अनुहार र अर्का एक जना पुरानै अनुहार मन्त्रीको जिम्मेवारीमा दोहोरिएका छन्। चार महिनाबाट मन्त्रिपरिषद् विस्तार हुन नसकेकामा आलोचना खेप्दै आएको सरकारले एकैपटक चार जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेको हो। यसअघि, उद्धव थापा मुख्यमन्त्री रहँदा मन्त्रालयको जिम्मेवारी वहन गरिसकेका ओखलढुंगाका सुनुवारले स्वास्थ्य मन्त्रालय र उदयपुरका खत्रीले उद्योग वन तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

त्यसैगरी, माओवादी केन्द्रतर्फबाट उदयपुरका मगरले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र संखुवासभाका कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

पहिलोपटक मन्त्रालयको जिम्मेवारी पाएका मगर यसअघि, सभामुखको दावेदार थिए। तर, अन्तिममा उनलाई पछाडि सारिएको थियो।

त्यसैगरी, कार्कीले संसदीय दलका लागि प्रयास गरेका थिए। तर, दलको नेतामा इन्द्र आंग्बो भए पनि कार्की पछि हटेका थिए। यद्यपि, उनी छोटो समयका लागि बिनाविभागीय मन्त्रीको जिम्मेवारीमा रहिसकेका हुन्।

मुख्यमन्त्री कार्कीले धनकुटाकी प्रदेश सभा सदस्य इन्दिरा कार्कीलाई आर्थिक मामिला मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन्। त्यसैगरी, गुरुङले आन्तरिक मामिला मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएकी हुन्।

यसअघि, मुख्यमन्त्री कार्कीले कात्तिक १७ गते नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइसकेका छन्।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्