सूर्यदर्शन सहकारी प्रकरणमा प्रमोद भट्टराई पक्राउ

पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहकारीका सञ्चालक समिति सदस्य सुनसरीको इनरुवा नगरपालिका–५ का ३० वर्षीय प्रमोद भट्टराई रहेका छन्।

उनलाई बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको हो। काठमाठौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए। उनलाई शुक्रबार कास्की ल्याएर जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको उनले जानकारी दिए। ‘अदालतमा बयान सकेर प्रहरीकोमा नै फिर्ता पठाएको छ’, डिएसपी विकले भने, ‘थुनछेक आदेश आउन बाँकी छ।’

पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सूर्यदर्शन सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको उल्लेख छ। १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन्।

२०६७/६८ सालमा दर्ता भई सञ्चालनमा आएको सूर्यदर्शनले सुरुमा सभागृह चोकबाट सेवा दिएको थिथो। पछिल्लो समय कार्यालय नालाको मुखमा सरेको थियो।

सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। हालसम्म ५ जना मात्रै पक्राउ परेका छन्।

सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी, पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल पक्राउ परेका हुन्। चारै जना पुर्पक्षका लागि थुनामा छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडित बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ व्यक्ति र कम्पनिविरुद्ध पूरक जाहेरी दिएका थिए। अझै थपको विवरण खुलाएर जाहेरी दिने तयारीमा पीडित बचतकर्ता रहेका छन्।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्