पाल्पाली कवि आरबी निश्चलको ‘उल्टो धार’ सार्वजनिक

काठमाडौँ –  एकपछि अर्को काव्यात्मक पुस्तक पाठकमाझ ल्याइरहेका आरबी निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण भएको छ। पाल्पामा आयोजित समारोहमा गजलकार बूँद रानाले सो कृति विमोचन गरे। उनले आरबी निश्चलले ‘उल्टो धार’बाट जीवनमा सत्यता खोज्ने अभियानमा लागेको बताए।

कृतिको समीक्षा गर्दै डा. शंकरप्रसाद गैरेले कविताले दिन खोजेका सन्देश, चेतना, हालको सामाजिक, धार्मिक अवस्था’लगायत चर्चा गरे। २१औं शताब्दीमा पनि जातीय विभेद गरेर समाजमा उच्च व्यक्ति कहलाउनेहरू उल्टो धारमा हिँडिरहेको विषयलाई कवितामार्फत व्यक्त गरिएको उनले बताए।

कवि निश्चलले विभिन्न व्यक्ति, शासक केही वर्ग उल्टो धारमा हिंडिरहेको भन्दै व्यंग्य गरे। जातीयताका कुरा गरेर समाजलाई उल्टो बाटो हिँडाउनेहरूलाई सचेत गराउनुपर्ने उनको जोड छ।

कार्यक्रममा धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, महासचिव राजेशकुमार अर्याल, सचिव टंक पन्थ, साहित्यकार तिलक लामिछाने, रामप्रसाद अर्याल, मन गहिरे, महेन्द्र पन्थी, आयाम कार्कीलगायतले बोलेका थिए।

११८ पृष्ठको कृतिलाई समय चिन्तन, प्रश्न र आफ्नै आँखा गरी तीन परिच्छेदमा विभाजन गरिएको छ। जसमा ४८ कविता संग्रहित छन्। २०७६ सालमा किस्ताकिस्तामा जिन्दगी (कविता संग्रह) पाठकमाझ ल्याएका उनका मौन हिमाल (कविता संग्रह), सपनाफूल (खण्डकाव्य), विष्णु लोहनी र सुमन लोहनी, आँसु खस्दै गर्छ (कविता संग्रह), पैताला पुकार (कविता संग्रह) प्रकाशित छन्।

पाल्पा रिब्दिकोटका आरबीले नुरगंगा साहित्य प्रतिभा पुरस्कार, सकला सिद्धार्थ वाङ्मय पुरस्कारलगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन्। अंग्रेजी विषयमा एमएड गरेका उनी हाल प्राध्यापन पेसामा संलग्न छन्।

माघ २६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्