कांग्रेस महासमिति बैठक किन छैन देउवाको प्राथमिकतामा?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल फोटो।

पटक-पटक सारेर आगामी फागुनमा सम्पन्न गर्ने तय भएको कांग्रेसको महासमिति बैठकलाई संस्थापन पक्षले कम महत्त्व दिँदै गर्दा इतर समूह भने यसको व्यग्र प्रतीक्षामा रहेको नेताहरूका अभिव्यक्तिले देखाएका छन्। महासमितिको बैठकलाई कांग्रेसमा पार्टीको महाधिवेशनपछि महत्त्व दिएर हेर्ने भएपनि संस्थापन समूहका नेताहरूले भने पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक नै नदेखेको बताउने गरेका छन्।

त्यसो त देउवाले अघिल्लो कार्यकालको ६ वर्षे अवधिमा एकपटक मात्रै महासमिति बैठक राखेका कारण पनि उनले महासमिति बैठक आवश्यक ठान्दैनन् भनेर नेताहरूलाई तर्क गर्न बल पुगेको हो।

कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिमा चुनिएपछि देउवाले आफ्नो ६ वर्षे कार्यकालमा एकपटक मात्रै महासमिति बैठक राखेपछि चर्को विरोध भएको थियो। प्रत्येक वर्ष बस्नुपर्ने बैठकमा छलफल गर्न रुचि नदेखाउनुको उनको प्रमुख कारण विरोध टार्न बैठकबाट भागेको संस्थापन इतर पक्षको दाबी छ।

इतर समूहका एक जना केन्द्रीय सदस्यले पार्टीको आधिकारिक धारणा प्रष्ट पार्न पनि महासमिति बैठकमा छलफल हुनु जरुरी ठान्छन्। उनले महासमिति बैठकलाई नीति अधिवेशनमा रूपान्तरण गरिदिन पनि पार्टी सभापतिसँग आग्रह गरेका छन्। ती केन्द्रीय सदस्यले भने, ‘सभापतिले महासमिति बैठक नै छल्नुपर्ने त केही छैन, बैठक बसाउनुहुन्छ होला तर महासमिति बैठकलाई नीति अधिवेशनमा रूपान्तरण गर्नुहुन्छ होला जस्तो लाग्दैन।’

‘प्रत्येक वर्ष महासमितिको बैठक गर्दैगर्दा पोलिसी रिभ्यु गर्न सक्छ। विधान संशोधन गर्न सक्छ। ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन जुन छ, नीति महाधिवेशन र नेतृत्व चयन गरेको ६ महिनाभित्र गर्नुपर्ने समयमा नगरेको अवस्थामा १४ औं महाधिवेशनबाट के नीति हामीले लियौं त्याे प्रष्ट छैन। यसलाई प्रष्ट पार्न पनि नीति अधिवेशन गर्नुपर्ने हुन्छ। सार्वजनिक जीवनमा उठेका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने निर्णय नीति महाधिवेशनले गर्ने हो। राजनीति भनेर आन्तरिक राजनीतिको गफ मात्रै गरिन्छ, पार्टीको अन्तरद्वन्द्व र पार्टीका कुरा मात्रै होइन, गाउँ, समुदायमा कांग्रेस गएको बेलामा भेटिएको मानिसको अनुहारमा खुसी ल्याउन सक्ने विषय नै राजनीति हो। दलहरूले जनताको विषयमा काम गर्छु भनेका छन्। तसर्थ जनताको अनुहारमा खुसी ल्याउनु कांग्रेसको पनि दायित्व हो, ’ उनले थपे।

२०७८ मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन हुँदा नीतिबारेको छलफल थाँती थियो। महाधिवेशनले सभापतिमा शेरबहादुर देउवासहित १ सय ३४ जनालाई निर्वाचित गरेको थियो। महाधिवेशन सम्पन्न भएपछि महासमिति बैठक गर्ने निर्णय भएको थियो। प्रत्येक वर्ष बस्ने भनिएको बैठक २०८० माघसम्म आइपुग्दा एक पटक पनि गर्न सकेन। मिति तोक्दै सार्दै गरेर फागुन पहिलो हप्ता बस्नेगरी तीन पटकसम्म बैठक सरेको हो।

इतर समूहले नीति अधिवेशनको माग गर्दै गर्दा देउवा निकट एकजना नेतृले भने आवश्यक नरहेको बताइन्। उनले देश सञ्चारसँग भनिन्, ‘महासमिति बैठकले नै नीति बनाउन सक्छ, नीति अधिवेशनले पास गरेका निर्णयहरू पनि महासमिति बैठकबाट पास गराउनुपर्ने हुन्छ।’

संस्थापन पक्षकै अर्का नेता गुरु बरालले पनि महासमिति बैठक र नीति अधिवेशनमा शब्द मात्रै फरक भएको तर सिद्धान्त र उदेश्य एउटै भएको दाबी गर्छन्।

उनले देश सञ्चारसँग भने, ‘शीर्ष नेताहरूले महासमिति बैठकलाई नीति अधिवेशनमा कन्भर्ट गर्ने भनेपनि काम एउटै हो शब्द मात्रै फरक हो।’

नेता रमेशजंग रायमाझीले नीति अधिवेशनले पार्टीलाई अगाडि बढाउन थप सहयोग गर्ने भएकाले सभापति सकरात्मक रहेको बताए। विरोध हुने डरले सभापतिले पटक पटक महासमिति बैठक सार्नुभएको हो भन्ने जिज्ञासामा उनले भने, ‘विरोध त राजनीतिमा भइ नै रहन्छ। हरेक दिन विरोध हुन्छ। विरोधको सम्मान गर्न सक्छौं। हामीले पनि विरोध गरेर आएका हौं। मुलुकको व्यवस्थाको विरोध, राजाको विरोध।आलोचना र प्रशंसा सहन सक्नु पर्छ।’

महासमिति बैठक सम्पन्न गर्न पार्टीमा उपसमितिहरू पनि गठन गरेकाले यसपटक बैठक बस्ने नेताहरू बताउँछन्। महासमिति बैठककै कारण देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हेरफेर र पुर्नगठनमा समेत पर धकेलिरहेका छन्। देउवाले प्रचण्डलाई पार्टीको महासमिति बैठकसम्म कुरिदिन भनेका छन् भने आफ्नै दल कांग्रेसमा पनि नेताहरूलाई हतार नगर्न निर्देशन दिएका छन्।

गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनपछि सरकार हेरफेर हुने नेताहरूबीच सहमति भएको भनिएपनि देउवाले आलटाल गरेका छन्। प्रचण्डले चासो मात्रै नभई कांग्रेसका मन्त्री हेरफेरमा समेत हस्तक्षेप गर्न खोज्दै गर्दा देउवा भने तत्काल मन्त्रिपरिषद् हेरफेरको मनस्थितिमा नरहेको उनीनिकट नेताहरू बताउँछन्।

 

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्