विश्व सामाजिक मञ्चले विभिन्न सामाजिक आन्दोलन कार्यक्रम गर्ने

काठमाडौं- वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्ने ‘विश्व सामाजिक मञ्च’ को १६औं संस्करण यही फागुन ३ देखि ७ गते सम्म काठमाडौंमा हुँदैछ।

वैकल्पिक विश्वबारे बहस हुने मञ्च सम्बद्ध कार्यक्रमका रूपमा फागुन २ गते संसदीय मञ्च र फागुन ५ गते अन्तरमहादेशीय युवा सम्मेलन पनि आयोजना हुनेछ।

‘अर्को विश्व सम्भव छ’ भन्ने नारा बोकेको यस मञ्चले विभिन्न सामाजिक आन्दोलन, सामुदायिक अभियान, ट्रेड युनियन, किसान संगठन, युवा संगठन, प्राज्ञ, बुद्धिजीवी र अन्य सीमान्तीकृत समुदायलाई समेटेको छ।

विश्वका विभिन्न देशका अभिन्यता तथा अधिकारकर्मीहरूको विभिन्न सत्र हुने छ।

वर्तमान विश्व व्यवस्थाले अंगीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस गर्दै वैकल्पिक सोच र विचार निर्माण गर्न विश्व सामाजिक मञ्च सुरु भएको हो।

राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना र ह्यान्डिक्याप इन्टरनेसनल नेपालको सह-आयोजनामा नेपालमा हुने १६औं संस्करणको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

आर्थिक असमानता, श्रम आप्रवासन, विभिन्न किसिमका भेदभाव, लैंगिकता, अपांगता, कृषि, शान्ति, लोकतन्त्र लगायत १३ वटा मुख्य विषयमा केन्द्रित हुने सामाजिक मञ्चको १६औं सत्रमा करीब २५० वटा कार्यक्रम हुनेछन्। कार्यक्रमहरू भौतिक र भर्चुअल गरी दुवै तरिकाले सञ्चालन गरिनेछ।

विश्व सामाजिक मञ्चबाट राष्ट्रिय अपांग महासंघको कार्यक्रममा सहभागिता रजिष्टर गर्न सकिनेछ।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्