प्रधानमन्त्री दाहालप्रति इंगित गर्दै झलनाथले भने- जुन जोगी आए पनि कानै चिरेको

पोखरा-नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले वर्तमान गठबन्धन सरकार खास मौसमको उपज भएको बताएका छन्। उनले अहिलेको मौसम बदलिएपछि गठबन्धन पनि बदलिने बताए।

शनिबार बिहान पोखरामा समाजवादी प्रेस संगठन, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले देशको अहिलेको आवश्यकता राजनीतिक कोर्ष परिवर्तन रहेको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अहिले राजावादीको चुरिफुरी सत्ताको कमजोरीको कारण भएको टिप्पणी गरे।

उनले भने, ‘यो यथास्थितिवाद हो। राजनीतिक दलले कोर्ष चेन्ज गर्छन् भने नेपाली जनताले साथ दिन्छन्। नेपाली जनताको यसमा केही दोष छैन।’

उनले वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले काम गर्न नसक्दा जनतामा निराशा छाएको टिप्पणी गरे।

‘जनतामा जुन जोगी आएपनि कानै चिरेको भन्ने लागेको छ। जति काम गर्नुपर्ने थियो गर्न सक्नुभएन,’ नेता खनालले भने।

अब कोर्ष करेक्सन गरेर पनि प्रचण्ड सरकारले देशको हीतमा काम गर्नुपर्ने उनको सुझाव छ।

‘कमरेड प्रचण्डको नेतृत्वमा बनेको सरकारले अहिलेसम्म त गर्न सकेन नै। अब कोर्ष चेन्ज गरेर भएपनी गरोस्। देशको हीतमा काम गरोस्। जनताको हीतमा काम गरोस्। भूमी सुधार गरोस्, कृषि क्रान्ति गरोस्। राष्ट्रिय औद्योगीककरणमा काम गरोस्,’ उनले भने।

नेता खनालले सरकार पुँजीवादको पछि लागेको आरोप लगाए। वर्तमान गठबन्धन सरकारले समाजवाद ल्याउन नसक्ने उनको भनाइ छ। परिवर्तन गर्न नसक्दा हजारौं युवा दैनिक वैदेशिक रोजगारीमा हिडिरहेको उनले बताए।

देशमा कृषि क्रान्ति, औद्योगिक क्रान्तिको आवश्यक्ता रहेको नेता खनालले सुनाए।

आफ्नो छोटो प्रधानमन्त्री कार्यकालमा सुरुङमार्ग र लोडसेडिङमुक्त बनाउन काम गरेको दाबी गरे। आफूले फेरि मौका पाउने हो भने धेरै काम गर्न सक्ने उनले बताए।

गलत राजनैतिक कार्यदिशाको कारण नेकपा फुटेको बताए।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्