आफू प्रधानमन्त्री बनेपछि उत्तरी नाकामा आवतजावत सहज भएको प्रचण्डको दावी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। फाइल तस्बिर ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताएका छन्।

शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्न बढी ध्यान दिएको दाबी गरे।

परिणामस्वरुप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री दाहालको दाबी छ। उनले चिनियाँ राजदुतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए।

उनले छलफलमा परम्परागत नाकाहरु खोल्ने, टोखा-छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताए।

उनले भने,‘मैले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा दिएको छु। जसका कारण तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको छ। जे सहमति र सम्झौताहरु मेरो भ्रमणका क्रममा भएका छन्, ति कार्यान्वयन हुँदै जाँदा यो व्यापार व्यवसायलाई निकै ठूलो योगदान पुग्छ भन्ने मेरो विश्वास छ। त्यसका साथै उत्तरी क्षेत्रमा रहेका बासिन्दाहरुका निम्ति पनि त्यो सम्झौता र सहमतिमा भएका कुराहरुको कार्यान्वयनले निकै ठूलो महत्व राख्ने विश्वास लिएको छु। अस्ति भर्खरै पनि भ्रमणका क्रममा भएको सहमति र सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा चिनियाँ राजदुतसँग मैले कुरा गरेको थिएँ । खासगरी परम्परागत नाकाहरु खोल्ने विषयमा भएका समझदारी र टोखा-छहरे सुरुङ मार्गबारे यसको डिपिआर तयार गर्ने बारेमा र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको छ । यी सहमति मात्रै पर्याप्त छैनन्। थप कुटनीतिक पहल गर्नुपर्छ।’

प्रधानमन्त्री दाहालले सहमति मात्रै पर्याप्त नहुने भन्दै थप कुटनीतिक पहलबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाउने बताए।

 

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्