जीवनमा पहिलो प्रेम त आमालाई नै गरें हुँला! त्यो अनुभूति सम्झना छैन। तर म जति-जति ठूलो हुँदै गएँ, आमालाई भुल्दै-भुल्दै गैरहें। आज एकै छानामुनि भएर पनि आमाको संसार र मेरो संसार नितान्त फरक छन्। र पनि मलाई के थाहा छ भने जीवनमा चरम संघर्ष खपेर आमा हाम्रै लागि बाँचिन्। आमा आफ्ना लागि बाँचेको भन्न सकिने खास प्रमाण केही छैन।

बा! आज पनि म यो शब्दसँग डराउँछु। चट्टानजस्तो लाग्छ बाको छाती, लहरापहराजस्ता लाग्छन् बाका हातपाउ। त्यो संरचनाभित्र कोमलता नाप्ने प्रयास कहिल्यै गरिएन। बाको कठोरताले हाम्रो लागि छानोको काम गरेको साँचो हो। तर एक डरलाग्लो दुरी कायम रैरह्यो बा र हाम्रो बीचमा। यो दूरीको अर्थ के होला, थाहा छैन। यो दूरीलाई प्रेम भन्न मिल्छ कि मिल्दैन, त्यो पनि थाहा छैन। कसरी भनुँ कि मैले बालाई पनि प्रेम गरेहुँला!

सम्झना भएअनुसार सानोमा मैले सबैभन्दा बढी प्रेम दिदीलाई गरें। ऊबेला घरमा मेरो मनले सबैभन्दा बढी दिदीलाई नै खोज्थ्यो। म एक कक्षामा पढ्दा दिदीको बिहे भयो। दिदी पराइ घर गइन्। निकै दिनसम्म मैले घरमा दिदीको अभाव महसुस गरें। त्यो महसुस आज पनि मलाई हुन्छ। जबजब दिदी माइती आउँछिन् मनमा एक अव्यक्त उमंग छाउँछ।

सानोमा गोरुगोठाला जानु मलाई औधी मन पर्थ्याे। त्यहाँ गोरु जुधाउन पाइन्थ्यो। एक समय हाम्रो एक गोरुले गाउँका सबैका गाेरुलाई जित्थ्यो। म त्यो गोरुलाई औधी मन पराउँथे। हाम्रो बसाइसराइँ सँगै गोरु पनि बेचियो। जंगल जानुका अरू पनि रहर थिए। त्यहाँ खुलेर गीत सुसेल्न पाइने घना जंगल थियो, क्षितिज हेर्न पाइने अग्ला ढुंगा थिए, मनलाग्दी खेल्न पाइने झर्ना-खोला थिए। समयसमयमा गुराँस फुल्थे, कोइली गाउँथे, काफल ऐसेलु पाक्थे। यी सबै चीजमा मेरो प्रेम थियो।

विद्यालय तह पढ्दा कुनै केटाकेटीको बीचमा लगातार चारपाँच पटक जसो देखादेख भयो भने ‘लभ पर्‍याे’ भन्ने चलन थियो। बालापनको सौन्दर्य यही त हो। पढाइमा अरूभन्दा अब्बल, बोलीचालीमा चञ्चल र व्यवहारमा नरम स्वभावको भएर पो हो कि मसँग नजिकिन खोज्ने केटीहरू धेरै थिए। अरूका भन्दा बढ्ता साथीसंख्या भएकामा म भित्रभित्रै पुलकित हुन्थें। अरू केटाकेटीका आरोपका भाषा हुन्थे– मेरा प्रेमिका धेरै छन्। मलाई थाहा थियो– मेरा प्रेमिका कोही थिएन। कलेज पढ्दा पनि यो अवस्था जारी रह्यो। त्यो अवस्थासम्म हृदयमै सजाउने भनेर मैले कसैलाई मन पराइनँ।

आइएस्सी पढ्दा मैले दुनियाँ बिर्सें र पुस्तकका ठेली मात्र सम्झें। एक दर्जन पुस्तकका ठेलीले मेरो भोक, प्यास, निद्रा, थकान सब चोरे। आइएस्सी पास भएको दिन जीवनमा सबैभन्दा बढी खुसी भएको थिएं म। ऊबेला मेरा प्रेमिका तिनै पुस्तकहरू थिए सायद। उसो त आज पनि मेरो पुस्तक प्रेम घटेको छैन। आजका दिनसम्म एक हजारभन्दा बढी पुस्तकसँग संसर्ग गरिसकेकाे अनुमान मेराे छ।

आइएस्सी पढ्दा बसेको भित्ताको दिवार बिएस्सी पढ्दा चर्किँदै जानथाल्यो। मेरा सम्बन्धका जराहरू दिवार चिरेर बाहिर आउन थाले। ‘साथी-सर्कल’का लहरा झांगिदै जान थाले। कलेजभित्र होस या बाहिर मेरो सक्रियता बढ्न थाल्यो। लेखक बन्ने सपनाको उडानमा मञ्च र मिडिया खोज्दै खुब दौडिएँ त्यो समय।

स्थानीय मिडियाहरूमा मेरा कविता गजल, कथा, गीतीकथाहरू हप्तैपिच्छे प्रकाशन, प्रशारण हुन थाले। कलेज उमेरका केटाकेटीमाझ त त्यै बेला ‘फेमस’ बनिसकेको थिएँभन्दा मिल्छ। उसो त म पढाइमा पनि ठीकै भन्न लायकको थिएँ। कलेजका धेरै केटाकेटीसँग मेरो घनिष्ट समिप्यता थियो । तर त्यो समय पनि मैले ‘प्रेम’बारे खास सोंचिनँ। केही साथीका आग्रहमा केही श्रृंगारिक गजल कविता लेखें तर त्यो प्रेममा परेर लेखिएको थिएन।

समूहमा हुँदा देखिने मेरो चञ्चलता एकान्तमा हराउँछ। समूहमा हिँड्दा धेरैपटक युवतीलाई जिस्क्याउने काम गरियो। तर जिस्क्याएको मान्छेलाई फर्केर कहिल्यै हेरिएन। खासमा मलाई जिस्क्याउन आउँथ्यो कि आउँदैनथ्यो, थाहा छैन! तर कलेजका केटी साथी भने खुबै जिस्क्याउँथे मलाई। उनीहरू किन जिस्क्याउँथे होला, कुन्नि?

बिएस्सी पढाइको अन्तिम वर्ष हुनुपर्छ! सँगै पढ्ने एक केटी साथी मसँग अलि बढी नजिक थिइन्। मेरा ‘ह्याण्डराइटिङ’ निकै राम्रा हुन्थे र म ‘नोट’ पनि राम्रो बनाउथेँ। त्यही नोट माग्ने बहानाबाट सुरु भएको हाम्रो सम्बन्ध घनिष्ट साथीमा परिणत भयो। उनी मेरो कोठामा नियमित जसो आइराख्थिन्। यतिसम्म कि कैलेकाहीं त खाना बनाउने, भाँडा माझ्ने र लुगा धुने काममा समेत सघाइदिन्थिन्। उनको आगमनले मलाई सहजता प्रदान गर्थ्याे। तर मैले त्यसलाई प्रेम सम्झेको थिइनँ।

म भन्ने गर्थें– प्रेमिका केवल प्रेमिकाको भूमिकामा मात्र रहन सक्छे तर असल साथी सुखदुखमा धेरै भूमिकामा रहन सक्छ। असल साथीलाई म कसरी प्रेमिका मानु? यो मेरो मनको कुरा थियो। तर उनको मनको कुरा के थियो कुन्नि? एकदिन कुरैकुरामा उनले भनिन्– म तिमीलाई प्रेम गर्छु। मैले पनि सहजै जवाफ फर्काइदिएं– म पनि तिमीलाई प्रेम गर्छु। उनले अर्को गम्भीर सवाल थपिन्– मलाई तिम्रो हृदयमा ठाउँ देऊ, म तिमीसँग ‘लाइफ’ बिताउन चाहन्छु।

एक असल साथीले प्रेमका गम्भीर कुरा गरेको मलाई पटक्कै चित्त बुझेन। हृदयको ढोका खुल्नु अगावै मेरो कोठाको ढोका बन्द भयो। त्यसपछि उनी कहिल्यै कोठामा आइनन्। आजकल सोंच्छु– मैले किन त्यसो गरे हुँला?

एमएस्सी पढ्दा म गाउँठाउँको लेखक बनिसकेको थिएँ। ‘धेरै भाउवाला’ नभए पनि भाउ खोज्ने भैसकेको थिएँ। बेलामौकामा स्थानीय रेडियोका आरजेहरू कार्यक्रममा बोलाउँथे। म बहुत रवाफका साथ जान्थें। आदर्शका गफ छाँटेर फर्किन्थें। केही महिनादेखि एक युवती आरजेले फलो गरिरहेकी थिइन्। उनको ‘फलो प्रोसेस’मा मलाई शंका थियो। नभन्दै उनले एक दिन आफ्नो साहित्यिक कार्यक्रमको लागि आमन्त्रण गरिन्।

राति सवा नौ बजे कार्यक्रमको समय थियो। म साढे आठ बजे नै स्टुडियो बाहिर पुगिसकेको थिएं। त्यो समय गेष्टरुममा बसेर हामीले निकै सौहार्द रूपमा गफ गरेर बितायौं। अनएयर जाने समय दुई मिनेट मात्र बाँकी थियो, युवतीले मनको बाँध खोलिदिइन्– म तपाईंलाई असाध्यै मन पराउँछु, त्यै भएर त आज तपाईंलाई बोलाको। मलाई झनक्क रिस उठ्यो। मैले जवाफ दिन नपाउँदै उनी स्टुडियोभित्र छिरिसकेकी थिइन्।

कार्यक्रमको धुन बजिसकेको थियो। उनले कार्यक्रमको उठान गरेर अतिथिलाई आमन्त्रण गरेको कुरा उद्घोष गरिसकेकी थिइन्। मेरा पैतला भने स्टुडियोको सिँडी ओर्लेर बाहिर आँगनमा अघि बढिसकेका थिए। म सरासर बजारको बाटो अघि बढें। उता स्टुडियोमा निकै बेरसम्म कार्यक्रमको धुन बज्यो। पछि केही पुराना विरहका गीत बजेको सुनियो। आजकल सोंच्छु– मैले किन त्यसो गरे हुँला?

एक पटकको भ्यालेन्टाइन डेको दिन म कक्षामा पढाउँदै थिएँ। एक छात्राले प्रश्न गरिन्– सर! हजुरले कसैलाई लभ गर्नुहुन्छ कि गर्नुहुन्न? मेरो मुखबाट सहजै जवाफ निस्कियो– गर्छु नि! म तिमीलाई लभ गर्छु।

केटाकेटीमाझ हाँसोको फोहरा छुट्यो। ती छात्राको मुहार लाजले रातोपिरो भयो। मैले कुरा सम्याउन खोजें– तिमीलाई मात्र हैन, तिमीहरू सबैलाई म लभ गर्छु। ल भन त तिमीहरू मलाई लभ नगर्ने कोही छौ?

जवाफ कसैबाट आएन। मैले हाँस्दै भने– आई लभ अल अफ यु डियर स्टुडेन्ट्स! सबै छात्रछात्राको मुखबाट एकै पटक जवाफ आयो– आई लभ यु भेरी मच सर! मेरो मन ढुक्क भयो।

जनयुद्ध कालको अन्त्यतिर केही दिन अभियानमा हिँडियो। जनमुक्ति सेनाको एउटै टोलीको सुरक्षा निगरानीमा हिँड्यौं हामी। बीस वर्ष नपुगेकी जस्ती एक महिला लडाकुको संरचनाले मलाई बहुत आकर्षित गर्‍याे। सुन्दर अनुहार, रूपरंग, मिलेको कम्ब्याट ड्रेस, काँधमा राइफल, निधारमा रातो तारा अंकित टोपी। त्योभन्दा बढी उनको आँट, साहस र सामाजिक रूपान्तरणको सपनाले मलाई बढ्ता प्रभावित गर्‍याे। केही महिना उनका बारेमा सोंचें। या भनौं उनीलाई सम्झिएँ। तर जब युद्धविराम भयो, शान्ति प्रक्रिया अघि बढ्यो। उनले अवकाश रोजिन्। जब उनलाई कम्ब्याट र राइफलविहीन अवस्थामा देखें, बहुत फिक्का लाग्यो उनको रूपरंग। त्यसपछि मैले उनलाई सम्झन छोडिदिएँ। के त्यसरी सम्झनु र बिर्सनु भनेको प्रेम थियो? कुन्नि!

यी केही घटना हुन् जसलाई प्रणय दिवस आसपास म बढी सम्झिने गर्छु। यीबाहेक यस्ता थुप्रै घटना छन् जो समयका अन्तराहरूसँगै बिर्सिदै गइन्छ। झुटो के बोल्नु, कलेजका पछिल्ला वर्षमा धेरथोर मन पराउन थालियो। तर त्यो पूर्ण मन पराइ थिएन। कसैकाे अनुहार मन पर्थ्याे, कसैको आवाज मन पर्थ्याे, कसैको केशराशि मन पर्थ्याे, कसैको जीउडाल मन पर्थ्याे, कसैको लगनशीलता मन पर्थ्याे, कसैको शालीनता मन पर्थ्याे। जजसमा केही अशल चीज देखिन्थ्यो, उसमा केही न केही कमजोरी पनि प्रष्ट देखिन्थ्यो। सबै गुण राम्रा कसैमा भेंटिदैनथ्यो। सायद मेरो महत्त्वाकांक्षा पो बढी थियो कि? अरूका असल गुणको खोजी गर्दा आफ्ना असल खराब गुणको हेक्का रत्तिभर राखिएन। त्यसैले पनि होला। कसैसँग प्रेम गर्न सकिएन।

कलेजमा मात्र हैन, बाहिर बाटोमा हिँड्दा, बजार डुल्दा, सभा-समारोहमा सहभागी हुँदा जहाँ जुन अवस्थामा पनि आकस्मिक रूपमा परिचित अपरिचितका केही गुणले आकर्षित गरे। तर त्यो आकर्षण प्रेममा परिणत भएन। एक समय फेसबुकमा फलो गर्ने युवतीहरू थिए। तर बिहेपछि त्यो फलोको फ्लो सुस्त भयो। आजकल पनि बहुत उदारता साथ कुराको सुरुवात गर्ने युवतीहरू मेरो ‘म्यारिड स्टाटस’ थाहा पाउने बित्तिकै कुराको बान्कीमा ‘हाइ एंगल’को परिवर्तन देखाउँछन्। सम्बन्धमा ‘म्यारिड’ या ‘अनम्यारिडनेश’को के सम्बन्ध हुँदो हो? कैलेकाहीं ती युवतीहरूलाई सोध्न मन लाग्छ। तर कसैलाई सोधिहालेको छैन।

प्रणय दिवस आसपास कोही न कोही सञ्चारकर्मी मित्रहरू भेट्न आइपुग्छन्। प्रेमको परिभाषा सोध्छन्। मलाई सोझै थाहा छैन भन्नु अशाेभनीय लाग्छ। मेरो तयारी जवाफ हुन्छ– संसारमा जुन कुराको परिभाषा दिन मलाई समस्या हुन्छ त्यही हो प्रेम। हुन पनि हो, मैले एमएस्सी पढ्दासम्म विज्ञानका सयौं परिभाषा र सिद्धान्त घोकें। बिएड पढ्दा शिक्षा र मनोविज्ञानका सयौं परिभाषा याद गरें। एलएलबी पढ्दा कानुनका सयौं परिभाषा पढें। त्यसबाहेक राजनीति, भूगोल, अर्थशास्त्र, धर्म आदिको अनौपचारिक अध्ययन गर्दा सयौं परिभाषा रटें। तर कहीं कतै प्रेमको परिभाषा पढ्ने अवसर जुरेन। न त्यो महसुस गर्ने अवसर नै जुर्‍याे।

मैले पौरख, पसिना र पुस्तकलाई धेरै समय दिए। सायद त्यै भएर प्रेमका लागि समय ‘अनसफिसियन्ट’ भयो होला। जीवनको एक पाटो सुस्त भयो होला। आजकल मलाई जीवनका उमङहरूले भन्दा गम्भीरताहरूले बढी सताउँछन्। धेरैले मेरो स्वभाव मन पराउँदैनन्। मलाई थाहा छैन म पूर्ण छु कि अपूर्ण?

कैलेकाहीं गीता जिस्क्याउँछिन्– हजुरलाई प्रेम गर्न आउँदैन। म नाजवाफ हुन्छु। अनि म एक्लै भएको बेला सोंच्छु– धन्न, गीता छिन् र मलाई प्रेमको बारेमा सोंच्न कर लाग्छ। अनि लाग्छ, जीवनका लागि प्रेम पनि आवश्यक छ। म बामे सर्दै गरेको आरोहणको मुहारमा हेर्छु। थाहा छैन, उसले मबाट कस्तो प्रेमको अपेक्षा गर्दो हो?

जीवनमा गीता नआउँदिहुन् त मलाई प्रेमको बारेमा कस्ले सम्झाउँदो हो?

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्