दायाँबायाँ सम्पूर्ण मन्त्री राखेर मुख्यमन्त्री शाहले भने- प्रगति सन्ताेषजनक

सुदूरपश्चिम सरकारद्वारा एक वर्षको प्रगति विवरण सार्वजनिक

धनगढी- मुख्यमन्त्री कमलबहादुर शाहकाे नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन भएकाे आज एक बर्ष पूरा भएकाे छ। गत वर्ष माघ २७ गते गठन भएकाे सुदूरपश्चिम प्रदेश सरकारले शनिबार एक कार्यक्रमका बीच एक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

दायाँबायाँ सम्पूर्ण प्रदेश सरकारका मन्त्री र सचिवसहित राखेर प्रगति सार्वजनिक गरेका मुख्यमन्त्री शाहले आफ्नाे एक वर्षे कार्यकाल सन्ताेषजनक रहेकाे बताए।

आफ्नाे प्रगति विवरणकाे पुस्तिका नै बनाएर पत्रकार सम्मेलनमा उपस्थित मुख्यमन्त्री शाहले राजनीतिक एवम् प्रशासनिक सहकार्य तथा समन्वयको दृष्टिकोणबाट सरकारको एक वर्षको कार्यकाल सुखद् रुपमा बितेको बताए।

उनले कठिन भूगोल, गरिबी, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य सेवामा समस्या, उद्यमशिलता, भौतिक पूर्वाधार विकासको कमी, सीमित स्रोतसाधन लगायतका कारणले प्रदेश सरकार जनताको अपेक्षामा खरो रूपमा उत्रिन नसके पनि तुलनात्मक रूपमा जनताका माग सम्बाेधन गर्दै गएकाे बताए।

प्रदेश सरकार नीतिगत सुधार, बेरुजु घटाउने गरी वित्तीय व्यवस्थापन, कृषि तथा पशुपन्छी विकास लगायतको कार्यमा अगाडि बढेको मुख्यमन्त्रीको भनाइ थियो।

एक वर्षको अवधिमा प्रदेशसभाबाट दुईवटा विधेयक मात्र पारित भएका छन्। यसैगरी, तीनवटा विधेयक सभामा पेश भएका छन् भने दुईवटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको जनाइएको छ।

लगातार प्रदेशसभालाई सरकारले बिजनेश दिएन भनेर आराेप खेपिरहेका मुख्यमन्त्री शाहले अब बिजेनस अभावमा प्रदेशसभा सञ्चालन भएन भनेर पत्रकारले समाचार लेख्नु नपर्ने बताए।

सरकारले यो अवधिमा तीनवटा नियमावली, आठवटा कार्यविधि र तीनवटा मापदण्ड बनाएको छ। एक वर्षको अवधिमा एक हजार ६०९ हेक्टर क्षेत्रफलमा वर्षैभरि सुविधा हुने गरी सिँचाइ उपलब्ध गराइएको छ।

यस्तै, १०८.१९ किलोमिटर कालोपत्रे सडक, १२२.९७ किलोमिटर माटे, १८५.९० किलोमिटर ग्राबेल सडक निर्माण भएको जनाइएको छ। यो अवधिमा सरकारले नौ वटा सडकपुल निर्माण गरेको छ।

यसैगरी, ५२० वटा इन्टेक, ५६३ पानी पोखरी निर्माण, दुई हजार ५०५ किलोमिटर पाइपलाइन जडान गरेको जनाइएको छ। ८२ हजार ७०२ जनालाई आधारभूत खानेपानी सेवा, १८ हजार ६०० जनालाई मध्यमस्तरको खानेपानी सेवा उपलब्ध लगायत उपलब्धिकाे रूपमा मुख्यमन्त्री शाहले सार्वजनिक गरेका छन्।

चालु आर्थिक वर्षमा बजेट खर्चको प्रगति र राजस्व संकलनको हकमा प्रदेश सरकार ठीक ठाउँमा रहेको आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले बताए। उनका अनुसार माघ २६ गतेसम्म चालु खर्च २५.२९ प्रतिशत, पुँजीगत खर्च १४.५६ प्रतिशत गरी कुल खर्च १८.९८ प्रतिशत पुगेको छ।

चालु आर्थिक वर्षको हालसम्म प्रदेश सरकारले ६४ करोड राजस्व संकलन गरेको छ। गत वर्ष यही अवधिसम्म प्रदेशमा ५१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। सार्वजनिक कार्यक्रमकाे अन्तिममा मुख्यमन्त्री शाहले उपस्थित सञ्चारकर्मीलाई भने- थाेरै नेगेटिभ, धेरै पाेजेटिभ समाचार लेख्नूहाेला।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्