यी हुन् प्रमुखविहीन सरकारी कार्यालय

सिमकोट – हिमाली जिल्ला हुम्लामा दुई दर्जनभन्दा बढी सरकारी कार्यालय प्रमुखविहीन भएको पाइएको छ। प्रदेश तथा संघ सरकारले आयोजना गरेका तालिम, गोष्ठी, सेमिनार र बैठकमा भाग लिन गएको लामो समय भए पनि हालसम्म जिल्लामा नफर्किएको कारण ती कार्यालय प्रमुखविहीन भएर निमित्तका भरमा कार्यलय सञ्चालन हुँदै छन्।

सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार संघ तथा प्रदेश सरकारका जिल्लास्थित संरचनामा दुई दर्जनभन्दा बढी सरकारी कार्यालय प्रमुखविहीन अवस्थामा छन्।

उनले केही कार्यालय प्रमुख जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर गए पनि कतिपय भने कुनै जानकारी दिएर नगएको बताए।

त्यसरी कार्यालयलाई प्रमुखविहीन बनाएर जिल्लाबाहिर गएका कार्यालय प्रमुखहरू डेढ महिनासम्म जिल्लामा नफर्किएको पाइएको छ। ती कार्यालय प्रमुख जिल्लाबाहिर सञ्चालन भएका तालिम, गोष्ठी र बैठकमा भाग लिन गए पनि चिसो छल्नका लागि जिल्लामा नफर्किएको समेत देखिएको छ।

जिल्ला प्रशासन कार्यलयले उपलब्ध गराएको कार्यालय प्रमुख बिहीन संघ सरकारअन्तर्गतका कार्यलयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, हुलाक सेवा कार्यालय, मालपोत कार्यालय, हिल्दु विद्युत् वितरण केन्द्र, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सिमकोट विमानस्थल, कोष तथा लेखा नियन्त्रण कार्यालय, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, स्याउ जोन र जिल्ला समन्वय समितिको कार्यालय छन्।

त्यसैगरी कार्यालय प्रमुखज्ञविहीन भएका प्रदेश सरकारअन्तर्गतका कार्यालयमा स्वास्थ्य सेवा कार्यालय, डिभिजन बन कार्यालय, कृषि विकास कार्यालय, भेटेरेनरी अस्पताल तथा पशुसेवा कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, प्रदेश लेखा इकाइ छन्।

त्यसैगरी राष्ट्रिय अनुसन्धानका प्रमुखसमेत सरुवा भएर बिदाइसमेत भइसके पनि नयाँ कार्यालय प्रमुख आइपुगेका छैनन्। यता, सिमकोट गाउँपालिका पनि प्रमुखविहीन बनेको छ। प्रमुखविहीन भएका ती कार्यालयमा कार्यालय सहयोगीदेखि नायव सुब्बासम्मले कार्यालयमा निमित्तको रुपमा काम गर्दै आएका छन्।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्