गण्डकीका सांसद विन्दुकुमारको तलबभत्ता सामाजिक काममा

पोखरा – गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले तलबभत्ता सामाजिक काममा सहयोग गरेका छन्। कास्की २ ‘ख’ बाट निर्वाचित उनले दोस्रो कार्यकालमा आफ्नो खातामा जम्मा भएको तलब भत्ता मतदाताको घरमा खानेपानीको धारा जडानदेखि रोगले थलिएर उपचारमा समस्या भएका विपन्नको वर्गलाई सहयोग गरेका हुन्।

गतवर्षको पुस २५ गतेदेखि हालसम्म ११ लाख १२ हजार ६०५ रुपैयाँ सहयोग गरेको थापाले जानकारी दिए। उनका अनुुसार प्रदेश सभा सचिवालयले उनको खातामा तलब भत्ता र अन्य सुविधा गरेर ८ लाख ९६ हजार १६० रुपैयाँ जम्मा गरिदिएको थियो। प्रदेश सभाबाट आफ्नो खातामा जम्मा भएको रकममा थप गरेर सहयोग गरेको बताए।

गण्डकीका सांसदले मासिक ५२ हजार २०० रुपैयाँ तलबवापत प्राप्त गर्छन्। बैठक भत्तादेखि दशैं भत्तासम्म सांसदले बुझ्ने गर्छन्। विन्दुकुमारले सामुदायीक भवन, सडक निर्माण, सडकबत्ती जडान, खानेपानीको धारा जडान, विद्यालयको बस खरिद, खेलकुद प्रतियोगिता, तालिम र दीर्घ रोगका बिरामीलाई तलब भत्ताबाट आएको रकम वितरण गरेको जानकारी दिए। थापाले जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पबाट प्रभावितका लागि ३७ हजार १०५ रुपैयाँ सहयोग गरेको उल्लेख छ।

अघिल्लो कार्यकालमै उम्मेदवारी दिनुअघि गरेको घोषणालाई निरन्तरता दिएको थापा बताउँछन्। ‘मैले अघिल्लो कार्यकालको उम्मेदवारी दिनुअगावै राज्यबाट प्राप्त सेवा सुविधा जनसेवामा नै खर्चने घोषणा गरेको थिए। जुन घोषणालाई अघिल्लो र यो कार्यकालमा अक्षरशः पालना गरेको छु’, उनले भने।

राज्यकोषको दोहन र दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्ने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सुनाए। आगमी दिनमासमेत तलब भत्ता आफ्नो व्यक्तिगत काममा खर्च नगर्ने थापाले बताए।

थापाको गण्डकी प्रदेश सभामा दोस्रो इनिङ्स हो। विन्दुकुमार यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारमा कानुन, सञ्चार तथा आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

कानुनमन्त्री हुँदा पनि सरकारी आवस प्रयोग नगरेको उनको भनाइ छ। प्रदेशको मन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरण उनलाई धनाढ्य नेताको रुपमा देखाएको थियो। उनी व्यवसायीसमेत हुन्।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्