चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा विभिन्न क्षेत्रका सात जना विशिष्ठ व्यक्तित्व पुरस्कृत

मोरङ – चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका सात जना विशिष्ठ व्यक्तित्वलाई पुरस्कृत गरेको छ। प्रतिष्ठानको १९ आँै वार्षिकोत्सवका अवसरमा शनिबार विराटनगरमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा साहित्य, ललितकला, मानवीय धर्म संस्कृति, समाज सेवा, खेल, पत्रकारिता र बाल प्रतिभामा पुरस्कृत गरिएको हो।

कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले साहित्य क्षेत्रमा प्राडा दयाराम श्रेष्ठ, ललितकलातर्फ प्राज्ञ गणेश रसिक, संस्कृतिविद् ताराबहादुर बुढाथोकी, समाज सेवातर्फ कल्पना भट्ट, पत्रकारिता क्षेत्रमा शशी बजगाई, युवातर्फ ललित राजवंशी र बालप्रतिभातर्फ आयुष केसीलाई पुरस्कारसहित सम्मान गरेका थिए।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले स्रष्टा सम्मान आयोजना गरेकोमा प्रष्तिष्ठानलाई धन्यवाद दिदै आगामी दिनमा अझ सकारात्मक सोचसाथ काम गर्न सुझाव दिए।

प्रदेश प्रमुख खापुङले पुरस्कृत व्यक्तित्वले आगामी दिनमा आफ्नो क्षेत्रमा अझ सक्रियतासाथ अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले पुरस्कारले मानवजीवनलाई सार्थक बनाउने प्रेरणा दिने र मार्गदर्शन गराउनेमा विश्वास लिएको बताइन्।

निरन्तर रुपमा १९ वर्षदेखि मुलुकभरबाट उत्कृष्ट कार्य गरेका व्यक्तिलाई चयन गरी पुरस्कृत गर्नु चुनौतीपूर्ण भएको बताउँदै उनले स्रष्टा सम्मानलाई सबैको न्यानो साथ कायम रहेको बताइन्।

विभिन्न संस्थाको आ–आफ्नै उद्देश्य हुने बताउँदै अध्यक्ष सुवेदीले प्रतिष्ठानले एकअर्कामा सम्मान, आदर र सहयोग भावनालाई जागृत गराउने उल्लेख गरिन्।

हरिभक्त सिटौलाद्वारा स्थापित धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतनातर्फको पुरस्कार १ लाख १ हजार रुपैयाँ काठमाडौंका प्राडा दयाराम श्रेष्ठलाई प्रदान गरिएको हो।

कार्यक्रममा सिटौलाले आगामी वर्ष पुरस्कार राशिमा थप ५० हजार वृद्धि गरी पुरस्कृत व्यक्तिले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए।
त्यसैगरी, भूपेन्द्रशोभा रिजाल ललितकला चेतना पुरस्कार गणेश रसिक, बालकिसन नर्वदा मुन्दडा सनानत मानवीय धर्म संस्कृति चेतना पुरस्कार संखुवासभाका संस्कृतिविद् ताराबहादुर बुढाथोकी, ओमप्रकाश गोयल समाज सेवा चेतना पुरस्कार धनगढीकी कल्पना भट्ट, नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार सुनसरीका शशी बजगाईं, डा. नरेन्द्र योगमाया भवानीशंकर चापागाईं युवा पुरस्कार मोरङका क्रिकेटर ललित राजवंशी र केदारनाथ मञ्जु सत्याल बालप्रतिभा पुरस्कार भक्तपुरका आयुष केसीलाई प्रदान गरिएको थियो।

उनीहरूलाई ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको थियो। ०६१ सालमा स्थापित प्रतिष्ठानले प्रत्येक वर्ष स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दैै आएको छ।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्