सिमकोट – बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–२ स्थित लाटो बस्तीमा घर भएका कर्णप्रसाद जैसी कलात्मक मूर्ति निर्माण गर्न हुम्लाको सदरमुकाम सिमकोट आइपुगेका छन्।

उनले केही समयदेखि आफ्नो जीविकोपार्जन गर्न मूर्तिकला निर्माण गर्दै आएका हुन्। जैसी मूर्ति निर्माण गर्नका लागि केही महिनादेखि हुम्लामा बसोबास गर्दै आएका छन्। उमेरले ५० वर्ष पुगेका जैसी केही वर्षदेखि मूर्तिकलामा रमाउँदै आएका छन्।

सिमकोटमा आएर विभिन्न भगवान्का मूर्ति निर्माण गर्न कच्चा पदार्थको खोजी गर्दा धेरै समय बिताउनुपरेको थियो। आवश्यक कच्चा पदार्थ फेला पारेपछि भगवान् शिव, गौतम बुद्ध र नागको गरी ३ वटा मूर्ति निर्माणमा गरिसकेका छन्।

जैसीले ०६३ सालदेखि विभिन्न भगवानका मूर्ति र मानिसको सालिक बनाउँदै आएकाले पहिलो पटक हुम्लालाई पनि मूर्ति बनाएर भगवान् शिवको मूर्ति जिल्ला प्रशासन कार्यालयलाई नासोका रुपमा दिने बताए।

उनले लामो समयदेखि अर्डरअनुसारका जस्तोसुकै पनि मूर्ति बनाएर आम्दानी गर्दै आएका छन्। मूर्ति निर्माणमा जुटेका जैसी यो पेशामा सफलसमेत हुँदै आएका छन्।

हुम्लाको सदरमुकाम सिमकोटस्थित काठेचुलीमा केही दिनदेखि बस्दै आएका जैसीले शिव, गौतम बुद्ध र नागको एक–एक वटा मूर्ति बनाउन सफल भएसँगै कोसेलीका रुपमा शिवको मूर्ति जिल्ला प्रशासन कार्यालय हुम्लालाई, गौतम बुद्ध लामा सांस्कृतिक मञ्चलाई र नाग कुनै इच्छाइएको देवताको मन्दिरमा प्रदान गर्ने बताए।

जैसीले मूर्ति बनाएको पाँचदेखि सात लाख रुपैयाँसम्मका बनाउने गरेको बताए। आफ्नै लगानीमा हातले निर्माण गरिएका मूर्ति विभिन्न सामग्रीमार्फत बनाउने गरिएको छ। सात जना परिवारको संख्या रहेका जैसीले हाल सोही कलाले आर्थिक आम्दानी गर्दै घर खर्च चलाउने गर्दै आएका छन्।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्