क्यान इन्फोटेक मेला अवलोकनकर्ताको आकर्षण बन्दै: हेर्न आए कप्तान रोहित पौडेल

काठमाडाैँ- भृकुटीमण्डपमा बिहीवारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ मा अवलोकनकर्ताको आकर्षण बढेको छ।

करिब १५० ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी सोमवारसम्म चल्ने छ। इन्फोटेक हेर्न शुक्रबार नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसमेत आएका थिए। सो अवसरमा उनले नेपाली युवाले विकास गरेका नयाँ प्रविधिले आफूलाई आकर्षित गरेको प्रतिक्रिया दिए।

नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ। इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन्।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए।

इन्फोटेकको शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ। यी उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ।

त्यस्तै इन्फोटेकको सहप्रायोजक एचएमसी दहुआले दहुआ ब्राण्डका नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेको छ ।

त्यस्तै नेपाल टेलिकमले इन्फोटेकलाई लक्षित गर्दै फाइबर इन्टरनेटमा विशेष प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत १२ हजार रुपैयाँमै एक वर्षका लागि ५० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ। जसमा ग्राहकले सेटटप बक्स निःशुल्क पाउनुका साथै ल्यान्डलाइनमार्फत ३०० मिनेट कल र प्रतिदिन ६०० एमबी मोबाइल डेटा पाउनेछन्।

अर्को इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेटले विशेष छुटसहित २०० एमबीपीएस र ३०० एमबीपीएसका प्याकेजमा इन्टरनेट, डीटीएच कम्बो तथा आईटीभी कम्बो अफर ल्याएको छ ।

इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालिले बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी ‘बजेट ३६०’ नामको सफ्टवेयर सार्वजनिक गरेको छ, जसमा इन्फोटेक अवधिभर २५ प्रतिशत छुट घोषणा गरिएको छ ।

प्रदर्शनीमा चर्चित ब्राण्डहरूका ल्यापटप तथा गेमिङ पीसीमा युवा अवलोकनकर्ताको विशेष चासो देख्न सकिन्छ । कम्पनीहरूले पनि यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् ।

इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना हरेक आईटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै नेपाली ब्राण्ड अस्ट उल्फले पनि यही अवसरमा आफ्ना स्मार्टवाच, इयरबड, हेडफोन, स्पिकर, नेकब्यान्ड, चार्जर लगायतका एक्सेसरिजमा २० प्रतिशत छुट दिँदै ग्राहक आधार र बजार विस्तार गरेको छ । साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन् ।

त्यस्तै सीजी डिजिटलले इन्फोटेकका अवसरमा एक्सचेन्ज अफर घोषणा गरेको छ । यसअन्तर्गत जुनसुकै ब्राण्डका विद्युतीय उपकरण दिएर ग्राहकले नयाँ उपकरण खरिद गर्न सक्नेछन् । साथै नयाँ उपकरण किन्दा २० प्रतिशत छुटसमेत पाउनेछन् ।

नेपाली सफ्टवेयर कम्पनीहरू, आईटी ट्रेनिङ प्रोभाइडर, आईटी कलेजहरूले इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि विशेष स्किम घोषणा गरेका छन्।

अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत केही कम्पनीहरूले इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएका छन् ।

त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै प्रदर्शनीको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन। छुट धेरै हुने भएकाले् केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

प्रदर्शनीमा नेपालको नवीनतम सोच इनोभेसन र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिए । उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टलहरु समेत उपलब्ध गराइएको छ।

आयोजक क्यान महासंघले क्यान इन्फोटेकका लागि जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ ।

 

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्