सुप्रिमलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

पोखरा – बालगायक सुप्रिम मल्ल ठकुरीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८०’ मार्फत सम्मान गरिएको छ। सरुभक्त केन्द्रले स्थापना गरेको पुस्कार शनिबार पोखरामा आयोजित कार्यक्रममा मल्ललाई प्रदान गरिएको हो।

शिक्षाविद् जर्ज जोन र सरुभक्त श्रेष्ठले सुप्रिमलाई पुरस्कार प्रदान गरे। पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ। बालबालिकालाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गरेको सरुभक्तले बताए।

‘नेपालमा हुने सम्मान अधिकांश ठूला व्यक्तिका लागि स्थापना गरिएको छ। प्रेरणा, प्रोत्साहनको आवश्यकता सबैभन्दा बढी बालबालिकालाई रहन्छ’, उनले भने।

राष्ट्रिय बालप्रतिभा पुरस्कार वितरणका लागि साहित्यकार सरुभक्त श्रेष्ठले स्वर्गीय पिता गणेशबहादुर श्रेष्ठ र माता स्वर्गीय लक्ष्मी श्रेष्ठको नाममा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष खडा गरेका छन्।

पोखरामा २०६० सालमा सरुभक्तको सम्मानमा तीर्थ श्रेष्ठको अध्यक्षतामा साहित्यकार सरुभक्त सरोकार केन्द्र स्थापना भएको थियो। समितिले पोखराकै कुमुदिनी होम्स विद्यालयसँग सहकार्य गरेर २०५६ सालमा पुरस्कार स्थापना गरेर दोस्रो वर्षबाट वितरण थाल्यो।

२०६९ सालसम्म अर्पण गरिएको पुरस्कारबाट ८ जना बालबालिका सम्मानित भइसकेका छन्। ११ वर्षदेखि पुरस्कार वितरण रोकिएकोमा यो वर्ष फेरि निरन्तरता पाएको छ।

पहिला १५ हजार रुपैयाँ पुरस्कार राशि भएकोमा हाल वृद्धि गरेर ५० हजार रुपैयाँ पुर्‍याइएको छ। सुप्रिम २०६९ साल वैशाख ३० गते बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मिएका हुन्।

११ वर्षको उमेरमै उनले सांगीतिक दुनियाँमा शिखर चुमिसकेका छन्। उनले लोक तथा दोहोरी, आधुनिक, चलचित्र, बाल, देशभक्ती गीतसँगै देउडा, सालैजो, ठाडोभाका, गजल, पुर्वेली, लिम्बु, किराँतीलगायतका भाषाभाषीका गीतमासमेत स्वर भरेका छन्। झन्डै १९० गीतमा सुप्रिमले जादुमय स्वर भरेका छन्।

माघ २७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्